काठमाडौं, ५ पुस । संसद विघटन गरेर चुनाव घोषणा गर्ने कदमविरुद्धको संभावित सडक प्रदर्शन र नागरिक प्रतिरोधलाई ध्यानमा राख्दै नेपाली सेना र नेपाल प्रहरीले सुरक्षा सतर्कता बढाएका छन् ।
नेपाली सेनाले आइतबार अपरान्हदेखि राजधानीका बालुवाटार, शितलनिवास, मन्त्रिनिवास, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वरलगायतका संवेदनशील क्षेत्रमा उच्च सुरक्षा सतर्कतासहित सुरक्षाकर्मीको गस्ती सुरु गरेको छ । यस्तै नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि सडकमा परिचालित भएका छन् ।
आइतवार दिउँसो नयाँ राजनीतिक घटनाक्रमबारे जंगीअड्डामा उच्च सैनिक अधिकारीहरूबीच भएको छलफल पछि सेनाले संवेदनशील क्षेत्रहरुमा बाक्लो गस्ती गरिरहेको छ ।
आजको बैठकमा नयाँ राजनीतिक घट्नाक्रमले राष्ट्रिय सुरक्षा उत्पन्न गर्नसक्ने चुनौतीबारे छलफल भएको नेपाली सेनाका सैनिक सहायकरथी प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।
प्रवक्ता पौडेलका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले नयाँ राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर सतर्क रहन र आवश्यक परे स्थानीय प्रशासनलाई सहयोग गर्न तयार रहन सबै प्रदेशका पृतना मुख्यालयहरूलाई निर्देशन दिएका छन्।
यसैबीच संसद् विघटनपछि मुलुकमा उत्पन्न परिस्थितिका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने निष्कर्षका साथ नेपाल प्रहरीले मातहतका कार्यालयलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले शान्ति सुरक्षालाई मजबुत बनाउन सुरक्षा सतर्कताका लागि निर्देशन दिइएको जानकारी दिए ।
प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपतिद्वारा आज प्रतिनिधिसभा विघटन गरिएपछि काठमाडौँलगायत मुलुकका विभिन्न क्षेत्रमा प्रदर्शन भएका छन् ।
यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफल गर्नुभएको छ । छलफलमा प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको सहभागिता थियो ।