५ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई चौतर्फि घेराबन्दीमा पारेकाले पछिल्लो कदम चाल्न बाध्य भएको भन्दै नयाँ राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर प्रभावकारी भूमिका निर्वाह गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा साझ भएको सुरक्षा संयन्त्रको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । संसद बिघटन गरेलगत्तै चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्री ओलीले बदलिँएको परिस्थितिका बारेमा छलफल गरेका थिए ।
सुरक्षा छलफलमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायतको उपस्थिति थियो ।
बैठकमा नयाँ राजनीतिक कदमविरुद्ध हुनसक्ने राजनीतिक आन्दोलन तथा सडक प्रदर्शन र त्यसले सुरक्षामा उत्पन्न गर्नसक्ने चुनौतीबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
प्रधानमन्त्री ओलीले सबैतिरबाट आफुलाई असहयोग र घेराबन्दी गरेकोले आफूले यस्तो कदम चाल्न वाध्य हुनुपरेको बताएका थिए । यस्तो अवस्थामा संसद बिघटन भईसकेपछि जनतामा जाने आफ्नो कदमलाई सघाउन पनि प्रधानमन्त्री ओलीको आग्रह थियो ।