पुष ३ काठमाण्डौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको देखिएको छ । देशभर दैनिक ६ हजार सम्म संक्रमित फेला परेकोमा अहिले दैनिक एक हजार भन्दा कम हुने गरेको छ । साथै निको हुने दर पनि बढेर ९५ प्रतिशत नाघेको छ ।
यद्यपि, कतिपयले परीक्षणको दायरा घटाएकाले संक्रमित घटेको पनि बताउने गरेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर थप ७ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । ५ हजार ७०६ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ।
यसै गरी पछिल्लो २४ घण्टामा १०२९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ। त्यस्तै, यसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ६५ पुगेको छ।
अब सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ जना रहेका छन् । हाल सम्म १८ लाख ६१ हजार ४ सय ३० जनाको पिसिआर परीक्षण भएको छ । अब क्वारेन्टाईनमा ४२७ जना बाँकी रहेका छन् ।