पुष ३ काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले कोरोना रोकथामका लागि गरिएको स्वास्थ्य सामग्री खरिदमा घोटाला भएको निष्कर्ष निकालेको छ । साथै विस्तृत छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय पनि गरेको छ ।
आज सार्वजनिक लेखासमितिको बैठकमा उपस्थित स्वास्थ्य मन्त्री भानुभक्त ढकालसगँ यस बिषयमा समितिले स्पष्टीकरण लिएको थियो ।
स्वास्थ्य मन्त्रीको बयानबाट पनि चित्त बुझ्दो नदेखिए पछि विस्तृत छानविनको निर्णय गरिएको समितिका एक सदस्यले जानकारी दिए ।
स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न १२ चैत २०७६ मा ओम्नी बिजेनस कर्पोरेट इन्टरनेसनल (ओम्नी समूह) सँग सम्झौता गरेको थियो ।
कानुनी अधिकार नै नभएका विज्ञ सल्लाहकार डा. खेम कार्कीको नेतृत्वको वार्ता टोली बनाएर डिल गरेको र त्यसलाई स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अनुमोदन गरेपछि मन्त्रीमाथि पनि व्यापक प्रश्न उठेको थियो ।