एक साताभित्र उखु किसानको बक्यौता भुक्तानी गर्न निर्देशन

एक साताभित्र उखु किसानको बक्यौता भुक्तानी गर्न निर्देशन

  • बिहिबार, पुस २, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

संसदीय समितिले एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई रकम भुक्तानीका लागि निर्देशन दिएको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तव उखुको रकम भुक्तानी नदिएको भन्दै किसान आन्दोलित बनेपछि समितिले एक साताभित्र भुक्तानी सकेर प्रतिवेदन पेश गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिइएको बताउनुहुन्छ ।

“गत वर्ष पनि किसान विभिन्न उद्योगले रकम नदिएको भन्दै आन्दोलन गर्न काठमाडौँ आउनुभएको थियो, एक वर्ष अगाडि भएको सहमतिअनुसार अझै भुक्तानी नभएपछि हामीले भुक्तानी गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका हौँ”, उहाँले भन्नुभयो, “उखु किसानको समस्या अहिले नै समाधान हुन्छ, उखुको रकम भुक्तानी नपाएको भन्दै अर्को वर्ष आन्दोलन गर्नुपर्ने अवस्था आउँदैन ।”

समितिले ११ वटै चिनी उद्योगमा कार्यरत श्रमिकको अवस्थाका बारेमा स्थलगतरुपमा अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । लामो समयदेखि केही चिनी उद्योग बन्द भएका र अन्य उद्योगले समेत श्रमिकलाई बेवास्ता गर्ने गरेको सूचना समितिमा आएको भन्दै स्थलगतरुपमा अध्ययन गरेर समस्या समाधानको व्यवस्था मिलाई विवरण उपलब्ध गराउन श्रम मन्त्रालयलाई निर्देशन दिइएको सभापति श्रीवास्तवले जनाकारी दिनुभयो ।

श्रीरामले तीन दिनमा रकम भुक्तानी गर्ने

लामो समयदेखि बन्द रहेको श्रीराम सुगर मिलले तीन दिनभित्र बाँकी रकम भुक्तानी गरिसक्ने सहमति जनाएको उद्योग मन्त्रालयले जनाएको छ । समितिको बैठकमा उद्योगमन्त्री लेखराज भट्टले श्रीराम मिलका सञ्चालकले तीन दिनभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिनुभयो ।

“हामीले पकटपटक आग्रह गर्दा उद्योगीले बाँकी रकम भुक्तानी गर्न आनाकानी गरे, हामीले बाध्य भएर कानूनी प्रक्रियाअनुसार तीन चिनी उद्योगका सञ्चालकलाई कारवाही गर्न गृह मन्त्रालयमा पत्राचार गरेका थियौँ”, उहाँले भन्नुभयो, “गृह मन्त्रालयले पक्राउको सम्पूर्ण अधिकार सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएर कारवाहीको निर्देशन दिएपछि श्रीरामका सञ्चालकले भुक्तानी दिने सहमति गरेका हुन् ।”

उहाँका अनुसार श्रीराम सुगर मिलका सञ्चालकले शुक्रबारबाट तीन दिनभित्र बाँकी सबै रकम किसानको खातामा राख्ने सहमति गरेको छ । उद्योग मन्त्रालयको तथ्याङ्कअनुसार श्रीरामले रु ३५ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी छ ।

गत वर्षको पुस १८ गते सरकार, चिनी मिल र उखु किसानबीच भएको सम्झौताअनुसार रकम भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसानले काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।

मन्त्रालयको तथ्याङ्कअनुसार महालक्ष्मी सुगर मिलको रु २० करोड, लुम्बिनी चिनी मिलको रु आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको रु चार करोड ७० लाख, अन्नपूर्ण सुगर मिलको रु १७ करोड र श्रीराम सुगर मिलको रु ३५ करोड गरी पाँच चिनी मिलबाट रु ६५ करोड ३१ लाख रकम भुक्तानी गर्न बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी