पुष २ काठमाडौँ । पटक पटक कोरम नपुगेर बस्न नसकेको र अध्यादेश ल्याए पछि अझ विवाद बढेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बैठक आज साँझ ५ बजे बोलाईएको छ । प्रधानमन्त्री एवं परिषद् अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बैठक बोलाएका हुन् । मंगलबार जारी अध्यादेश फिर्ता लिने नेकपाले निर्णय गरे पछि सोही अध्यादेशले गरेको व्यवस्था अनुसार नै बैठक बस्न लागेको हो ।
बैठकका बारेमा खबर भए पनि काँग्रेस सभापति शेर बहादुर देउवा सहभागी नहुने काँग्रेस निकट स्रोतले जनाएको छ ।
यस बैठकमा बिपक्षी दलका नेता शेर बहादुर देउवा र सभामुख अग्नी सापकोटा यस अघि उपस्थित भएका थिएनन् । संवैधानिक परिषद् सम्बन्धीको अध्यादेश जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओली विवादमा तानिएका थिए । उक्त कदमविरुद्ध नेकपाका अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेता माधवकुमार नेपाल लगायतको समूहले विरोध गरेपछि बुधबारको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने सहमति भएको थियो ।
संवैधानिक परिषद्को बैठकका लागि सभामुखलाई भने खबर गईनसकेको बुझिएको छ ।
यसै गरी संवैधानिक परिषद्को बैठक पछि मन्त्रीपरिषद्को बैठक पनि आजै बोलाईएको छ ।
मन्त्रीपरिषद् बैठकमा अध्यादेश फिर्ता लिने सम्बन्धि छलफल र निर्णय हुन सक्ने स्रोतले जनाएको छ ।