काठमाडौं, १ पुस ।
चौतर्फि बिरोध भएपछि प्रधामन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् ।
नेकपा स्थायी कमिटी बैठकले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेश फिर्ता गर्ने निर्णय गरेको हो ।
बुधबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले अध्ययादेश फिर्ता गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी बैठकले संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति समक्ष नेकपाका सांसदले पेश गर्न लागेको आवेदनको प्रक्रिया फिर्ता लिने निर्णयसमेत गरेको छ ।
आजको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अध्यादेश आएपछि मंगलबार बसेको संवैधानिक परिषद् बैठकले संवैधानिक नियुक्तिका लागि कुनै निर्णय नगरेको जानकारीसमेत गराएका थिए ।
स्थायी कमिटीको अर्को बैठक पुस ५ गते बस्नेगरी स्थगित भएको छ । प्रवक्ता श्रेष्ठका अनुसार पूर्व निर्धारित पुस ५ गतेको केन्द्रीय समिति बैठक भने पुस १० गतेसम्मका लागि सरेको छ ।
मंगलबार बिहानको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि चौतर्फि बिरोध भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ मंगलबार जारी गरेकी हुन् ।
संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेपछि यसको चौतर्फी विरोध भएको थियो । अध्यादेश जारी भएसँगै प्रमुख प्रतिपक्षी दल र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का असन्तुष्ट नेताले समेत आपत्ति जनाएका थिए ।