पुस १, काठमाडौँ । सत्तारुढ नेकपा स्थायी कमिटी बैठक सुरु भएको छ । तोकिएको समयभन्दा तीन घण्टा ढिला गरेर सुरु भएको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् ।
बैठक अगाडि दुवै अध्यक्ष ओली र पुष्पकमल दाहालबीच दुई चरणमा छलफल समेत भएको थियो ।
सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि आज दई पटक प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच छलफल भएको हो ।अध्यादेशको बिरोध सत्तारुढ नेकपाकै नेताहरुले समेत गरेका थिए ।
प्रतिक्रियारुपमा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसमूहका सांसदहरुले विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय गएका थिए । दाहाल नेपालसमूहले अध्यादेश फिर्ताको माग गरेका छन् । ओलीले विशेष अधिवेशनको माग गर्दै राष्ट्रपतिकहाँ बुझाइएको निवेदन फिर्ता लिनुपर्ने अडान राखेका छन् । यही तनावकाबीच तीन घण्टा ढिला गरी स्थायी कमिटी बैठक सुरु भएको हो ।
पार्टीको बैठक चलिरहेका बेला मंगलबार सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा विवाद नयाँ मोडमा पुगेको छ । आजको बैठकमा अध्यादेशकै विषयमा छलफल हुने नेताहरुले बताएका छन् । मंसिर २१ को बैठकमा पनि ओली सहभागी भएका थिएनन् । तर मंसिर २८ को स्थायी कमिटी बैठकमा भने ओली सहभागी भएका थिए ।