काठमाडौं, १ पुस ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो १ बजे का लागि बैठक बोलाईएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । आजको बैठकमा सरकारले ल्याएको अध्यादेश र देशभर काँग्रेसले गरेको विरोधसभाको समीक्षालगायतका विषयमा छलफल हुने पौडेलले बताउनु भयो ।
बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी हुने बताइएको छ ।
कोरम नपुगेर पटक–पटक संवैधानिक परिषद् बैठक स्थगित भएपछि सरकारले हिजो राष्ट्रपतिसमक्ष संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।
लगत्तै राष्ट्रपतिले अध्यादेश जारी गर्नुभएको थियो । उक्त अध्यादेशमा परिषद् बैठकका लागि गणपुरक संख्या ३ जनामात्र भए पनि हुने उल्लेख छ ।
यसअघि बैठक बस्नको लागि परिषद् अध्यक्ष र कम्तिमा चार जना उपस्थित हुनुपर्ने प्रावधान थियो । नयाँ अध्यादेशको जारी भएलगत्तै बिरोध जनाईसकेको छ । आज आधिकारीक धारणा सार्वजनिक हुने बताईएको छ ।