काठमाडौं, २४ मंसिर ।
सत्तारुढ नेकपाभित्रको बिवाद समाधानका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले नयाँ प्रस्ताव अघि सारेका छन् । संवादहिनता अन्त्य गर्दै बुधवार अर्का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका ओलीले प्रचण्डलाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको सहकार्य तोडेर अघि बढे बिवाद समाधान हुने प्रस्ता गरेका हुन् ।
तर प्रचण्डले समीकरण बनाउने र भत्काउनेभन्दा सबै समस्याको समाधान जारी स्थायी कमिटी बैठकबाट खोज्नुपर्ने अडान राखेका थिए ।
दुवै अध्यक्षका प्रस्ताव र पत्रको अध्ययन तथा अनौपचारिक छलफलका लागि स्थायी कमिटी बैठक एक साता स्थगित भएकै बेला ओलीले प्रचण्डसँग भेटी नेपालसँगको सहकार्य तोड्न दाहालसँग आग्रह गरेका हुन् । नेकपा विवाद झन्डै बहुमत–अल्पमतमा प्रवेश गरिसकेको अवस्थामा ओलीले दाहाल–नेपाल समीकरण भत्काउने प्रयासस्वरुप सहकार्यको प्रस्ताव अगाडि सारेको नेकपाका नेताहरुले विश्लेषण गरेका छन् ।
भेटमा ओलीले नेपालसँग आफूले लामो समय संगत गरेको बताउदै नेपालले बेलाबेलामा धोकाको राजनीति गरेकोेले उता सम्बन्ध तोडि आफूसँग सहकार्यका लागि आग्रह गरेका हुन् ।
तर, जवाफमा दाहालले आफूले नेपालसँग लामो समयदेखि सहकार्य गरेको र धोकाको सम्भावना नरहेको जवाफ फर्काएका थिए । यसअघि ओलीले नेपालसँगको भेटमा पटक–पटक सहकार्यको प्रस्ताव गरेका थिए । तर, नेपालले ओलीको प्रस्ताव अस्वीकार गर्दै आएका छन् । ओलीनिकट नेताहरुले दाहाल नेपालसहितको घेराबन्दीमा परेको भन्दै स्वतन्त्र भएर निर्णय लिनुपर्ने बताउँदै आएका छन् ।
बुधबारको भेटमा पनि ओलीले दाहालले सचिवालयमा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन प्रस्ताव राखेका थिए । तर, दाहालले पार्टी कमिटीमा छलफलमा गइसकेको प्रस्तावको टुंगो त्यहीँबाट लाग्ने बताएको उनी निकट नेताले बताए । दाहालले छलफलमा गएका प्रस्ताव स्थायी कमिटीबाट टुंगिने बताएको ती नेताले जानकारी दिए ।
दुई नेताबीच बालुवाटारमा एक घण्टा लामो भेटवार्ता भए पनि विवाद समाधानमा केही प्रगति नभएको उनीहरु निकटले बताएका छन् । दाहालको सचिवालयले पनि दुई अध्यक्षबीचको छलफलमा केही प्रगति नभएको बताएको छ ।
नेकपाले चैतमा महाधिवेशन गर्ने भने पनि पछिल्लो विवादका कारण त्यो अनिश्चत छ । ओलीले निकट नेताहरुलाई ‘सबै परिस्थितिको सामना गरेर जानेु बताइरहेका छन् । पछिल्लो पटक तीन राजदूत सिफारिस, कर्णाली प्रदेशको विवाद, मन्त्रिपरिषद् पुनर्गठनको विवादले ओली र दाहाल–नेपाल समूहबीच थप आंशका बढाएको छ ।
आइतबारको स्थायी कमिटीपछि दुई अध्यक्षबीचको दूरी र मनमुटाव थप बढेको बताइएको छ । दुवै अध्यक्षका प्रस्ताव र पत्रको अध्ययन तथा अनौपचारिक छलफलका लागि भन्दै स्थायी कमिटी बैठक एक साता स्थगित भएको थियो । तर, बैठकमा ओली सहभागी भएका थिएनन् । दाहालको पत्र बैठकमा छलफलका लागि योग्य नभएको भन्दै ओलीले स्थायी कमिटीलाई पत्र लेखेर अनुपस्थित हुनुको कारण खुलाएका थिए ।