काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि संविधान बिरोधी र हिंशात्मक गतिविधि गर्ने शक्ति बिरुद्ध एक जुट हुन अपील गरेका छन् ।
संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने बताए ।
छलफलमा प्रधानमन्त्रीले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले गर्दै आएका कामबारे पनि ब्याख्या गरेका थिए ।
तर काँग्रेसका नेताहरुले भने सरकारको कडा आलोचना गर्दै प्रधानमन्त्री ओलीसगँ शासन गर्ने राजनीतिक र नैतिक अधिकार नभएको बताएका छन् ।
बैठकमा काँग्रेस सभापति शेर बहादुर देउवाले अहिले सडकमा देखिएको असन्तुष्टी व्यवस्था बिरुद्ध पनि सरकार बिरुद्धको असन्तुष्टी भएको धारणा राखे ।
सरकारको गलत कार्यशैलीले व्यवस्था माथि नै प्रश्न उठेको देउवाको धारणा थियो । केही दिन अघि तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको घटनाको समेत देउवाले कडा निन्दा गरेका थिए ।
सर्बदलीय बैठकमा बोलेका काँग्रेस नेता विमलेन्द्र निधिले सरकारसगँ शासन गर्ने राजनीतिक र नैतिक अधिकार नभएको टिप्पणी गरे ।
बैठकमा काँग्रेसका अन्य बोल्ने नेताले पनि आलोचना गर्दै मंसीर २९ गते देशभर बिरोध प्रदर्शन गर्ने जानकारी दिएका थिए ।
बैठकमा सत्तारुढ नेपाल कम्म्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता थियो ।
काँग्रेस नेताहरुले सरकारकै कारण राजावादीहरु सडकमा आएको बताए । यसै गरी बैठकमा सहभागी राप्रपाका नेताहरुले राजा सहितको लोकतन्त्र हुनु पर्ने बताएका थिए । तर प्रधानमन्त्रीले त्यस बिषयमा कुनै प्रतिकृया नदिएको स्रोतले जनाएको छ ।