मंसीर २१ काठमाण्डौं । प्रचण्डले आफूमाथि लगाएका आरोप सहितको प्रतिवेदन फिर्ता लए पछि मात्रै बैठक बस्ने र छलफल हुने अडान लिए पनि अन्ततः प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली बैठक बस्न रोक्न असफल भएका छन् ।
ओलीले प्रचण्डको प्रतिवेदनको जवाफी प्रतिवेदन ल्याएका थिए र प्रचण्डको प्रतिवेदनमा छलफल हुन नसक्ने भन्दै बैठकमा सहभागी भएका थिएनन् ।
तर अनेकौ प्रयासका बीच प्रचण्ड आफ्नो प्रस्ताव फिर्ता लिन तयार नभए पछि हिजोको सचिवालय बैठक पनि निष्कर्ष बिहीन भएको थियो । सो बैठकमा ओलीले स्थायी समितिको बैठक राख्ने सहमति नजनाए पछि सचिवालयको बहुमत सदस्यहरुले स्थायी समितिको बैठक बोलाएका हुन् ।
आजको बैठक धुम्बाराही स्थित पार्टी मुख्यालयमा बस्ने तय भएको छ । दुबै अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्ने या खारेज गरेर नयाँ साझा प्रस्ताव ल्याउने भन्नेमा शीर्ष नेताबीच सहमति हुन नसकेका बेला स्थायी समितिको बैठक बस्न लागेको हो ।
स्थायी समितिमा पनि प्रचण्ड माधव पक्ष बहुमतमा रहेकाले प्रधानमन्त्री ओली अप्ठ्यारोमा पर्ने देखिन्छ । आजको बैठकमा ओली जाने नजाने निश्चित भईनसकेको स्रोतले जनाएको छ ।
ओली र प्रचण्डबीच छलफल भए पछि हिजोको सचिवालयमा ओली उपस्थित भएका थिए । आजको स्थायी समिति बैठकमा अध्यक्षद्धयका प्रस्तावहरुमाथि छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।