काठमाडौँ मंसीर १९ । भारतसगँको सीमा विवाद बार्ताबाट समाधान हुने दिशामा अघि बढेको सरकारले जनाएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणले लामो समयदेखिको संवादहीनता अन्त्य गरी सबै विवादलाई वार्ताबाट हल गर्ने बाटोमा लगेको दाबी गरे ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा मन्त्री ज्ञवालीले सीमा विवाद लगायतका सबै बिषयमा संवाद हुने दाबी गर्दै नेपालले सीमा समस्याको एजेण्डा नेपालले औपचारीक रुपमा राखेको पनि बताए ।
सन् २०१९ अगष्टमा भारतले नेपालको लिम्पयाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नक्सा जारी गरे पछि नेपालले आपत्ति जनाएको थियो ।
त्यस पछि गत बैशाखमा भारतीय रक्षा मन्त्रीले नेपाली भूमि लिपुलेकमा मानसरोबर जोड्ने बाटोको उद्घाटन गरे पछि दुबै देशबीच सम्बन्ध विग्रिएको थियो र हाल वार्ताको शुरुवात भए पनि समस्याको समाधान भने भएको छैन ।
त्यस्तै, दुवै मुलुकका ऊर्जा सचिवहरूको बैठक र वाणिज्य सचिवहरूको बैठक पनि हुन लागेको उनले बताए ।
चिनियाँ रक्षामन्त्रीको भ्रमणका क्रममा दुई देशबीच विगतमा भएका सन्धि र लेटर अफ एक्सचेन्जको कार्यान्वयनबारे छलफल भएको मन्त्री ज्ञवालीको भनाई छ
सांसदहरू भीम रावल र दिव्यमणि राजभण्डारीले गोयल र नरवणेको भ्रमणबारे परराष्ट्रमन्त्रीले धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका थिए । तर यसबारे मन्त्री ज्ञवाली केही बोलेनन् ।