काठमाडौं मंसीर ११ । भ्रष्टाचार सम्बन्धि रिपोटहरु सार्वजनिक गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा भ्रष्टाचार वृद्धिको अवस्था चिन्ताजनक देखिएको जनाएको छ । एशियाका १७ वटा देशको अध्ययन पछि सार्वजनिक प्रतिवेदना अनुसार नेपालका ८४ प्रतिशत जनताले भ्रष्टाचार देशको सबैभन्दा ठूलो समस्या हो भनेका छन् ।
जनमतका आधारमा तयार गरिएको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया, २०२०’ प्रतिवेदनमा एसियाका देशहरुमध्ये नेपालमा भ्रष्टाचार बृद्धि देखिएको छ ।
सर्वेक्षण अनुसार राष्ट्रपति कार्यलय, प्रधानमन्त्री कार्यलय सहित सांसद, कर्मचारी सबै भन्दा भ्रष्ट भएको जनमत देखिएको छ ।
पछिल्लो एक बर्षमा सर्वेक्षणमा सहभागी ५८ प्रतिशतले भ्रष्टाचार बढेको बताएका छन् । प्रतिवेदनमा सांसद र कर्मचारीलाई भ्रष्टाचारी मान्ने उत्तरदाता समान ४३ ४३ प्रतिशत छन् ।
४० प्रतिशतले स्थानीय सरकारका अधिकारी र २८ प्रतिशतले प्रहरीलाई भ्रष्ट मानेका छन् । न्यायाधीश र न्यायिक अधिकारीलाई २४ प्रतिशतले भ्रष्ट भनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नामै किटेर प्रतिवेदनमा भ्रष्टाचार बिरुद्ध अभिव्यक्ति दिए पनि थोरै कदम चालेको र मन्त्रीपरिषद्का भ्रष्टाचारमा जोडिएका सदस्यहरुको संरक्षण गरेको आशय व्यक्त गरिएको छ ।
विभिन्न क्षेत्रका एक हजार जनामा गरिएको सर्वेक्षण अनुसार १२ प्रतिशतले पछिल्लो एक वर्ष सरकारी निकायबाट काम गर्दा घुस खुवाउनु परेको बताएका छन् ।
नेपालमा राष्ट्रपति तथा प्रधानमन्त्रीकै संरक्षणमा भ्रष्टाचार बढेको विश्वास गर्ने जनताको संख्या ५० प्रतिशत रहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।
स्थानीय तहका अधिकारी भ्रष्ट रहेको सोच्ने नेपालीको संख्या ४० प्रतिशत रहेको तथा २८ प्रतिशतले प्रहरी भ्रष्टाचारी हुने सोच्ने गरेको पनि अध्ययनले देखाएको छ ।
२९ प्रतिशत जनताले विगत एक वर्ष सार्वजनिक सेवा लिंदा भनसुन गर्नुपरेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । १३ प्रतिशत जनतालाई भोट दिनका लागि घुस खुवाइएको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।
त्यस्तै, थप २९ प्रतिशतले यस्तो आयोगको कामबारे जानकारी नभएको बताएका थिए । ४६ प्रतिशत उत्तरदाताले भने यस्तो आयोगबारे सामान्य जानकारी भएको बताएका थिए । सर्वेक्षणमा सहभागीमध्ये ८४ प्रतिशतले भने आयोगले राम्रो काम गरिरहेको बताएका थिए ।