मंसीर १० काठमाण्डौं । अख्तियारका पूर्व आयुक्त राज नारायण पाठकलाई ७० लाख घुस दिएको सार्वजनिक भए पछि विवादमा आएका नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई सिआईबीले पक्राउ गरेको छ ।
उनलाई आज चण्डोलस्थित निजी निवासबाटै पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो ( सिआईबी) ले जनाएको छ ।
न्यौपानेविरूद्ध कात्तिक २४ गते ब्युरोले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको छ। यसमा उनी बाहेक अन्य चार जनालाई प्रतिवादी बनाईएको छ ।
उनीसहित पाँच जनाले इन्जिनियरिङ कलेजमा दुई कार्यकालसम्म काम गर्दा ८ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ ठगी गरेको मुद्दामा ब्युरोले अनुसन्धान गरिरहेको जनाईएको छ।
यस्तै, न्यौपानेविरूद्ध बेरुजुसहितको बिगो २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ माग गरिएको छ।
उक्त मुद्दामा ललितपुर महानगरपालिका–९ का सूर्यबहादुर केसी, वडा नम्बर ४ जावलाखेलका रामरत्न उपाध्याय, काठमाडौं–४ विशालनगरका उपेन्द्र गौतम र बालुवाटारका लवराज भट्टराई प्रतिवादी छन्।