मंसीर ६ काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले जनताको घर घरमा पुगेर कोरोना नियन्त्रण सम्बन्धि जनचेतना जगाउन जनप्रतिनिधिहरुले भूमिका खेल्नु पर्ने बताएका छन् ।
‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा आज काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले चुनावमा भोटमाग्न नागरिकको घरघरमा पुगेजस्तै कोभिड रोकथामका लागि स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु नागरिकको घरघरमा पुग्नुपर्नेमा जोड दिए ।
कोभिड रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्रै काम गर्ने नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराउने काम गरे महामारी नियन्त्रण गर्न सहज हुने उनले बताए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आउने चार महिना भित्र एक लाख ४८ हजार संक्रमित थपिन सक्ने अनुमान गरिएको बताएका छन् ।
अहिले पनि कुल सक्रिय संक्रमितमध्ये ८० प्रतिशत होम आइसोलेसनमा रहनुले नागरिकको बुझाइमा परिवर्तन आएको मन्त्री ढकालले दाबी गरे ।
यस्तै बेलैमा भ्याक्सिन ल्याउने कार्यमा सरकारले तयारी गरीरहेको पनि मन्त्री ढकालले बताए ।