मंसीर ५ काठमाण्डौं । एक अर्काप्रति आरोप प्रत्यारोप बढ्दै गएर पार्टी विभाजन हुने चिन्ता बढीरहेका बेला नेकपा अध्यक्ष प्रचण्डले आज महासचिव विष्णु पौडेल र अर्का नेता सुभाष नेम्वाङसगँ अलग अलग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीको असहमतिका बीच पनि अन्तिम समयमा मंसीर ३ मा बसेको बैठकमा ओलीले आफूमाथि लगाईएका आरोपहरुको खण्डन गर्दै नेकपामा अब या त प्रचण्ड रहनु पर्ने या त ओली रहनु पर्ने र एक जना हट्नु पर्ने अवस्था आएको सन्देश दिएका थिए ।
आफूमाथि लगाईएका प्रश्नहरुको जवाफ दिन समय चाहिने भन्दै उनले पनि लिखित रुपमा प्रतिवेदन पेश गर्ने भने पछि सचिवालयको बैठक मंसीर १३ गते सम्मका लागि स्थगित गरिएको छ ।
दुई अध्यक्षबीच बढेको तिक्ततालाई कम गर्न र पार्टी एकता बचाउन यतिखेर महासचिव विष्णु पौडेल सक्रिय बनेका छन् । उनले आज पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डसगँ छलफल गरेका छन् ।
अध्यक्ष प्रचण्ड र ओलीसगँ पालै पालो छलफल गर्दै आएका पौडेलले अघिल्लो बैठकमा सचिवालयका सबैले राजीनामा दिएर युवाहरुलाई जिम्मा दिन प्रस्ताव गरेका थिए ।
पौडेलसगँको भेट पछि अर्का नेता सुभाष नेम्वाङसगँ प्रचण्डले छलफल गरेका थिए ।
पौडेल र नेम्वाङ दुबै ओली पक्षधर नेता हुन् ।
भेटमा प्रचण्डले परिस्थिति गंभीर रहे पनि एकताको डोरी चुडिनसकेको बताएका थिए । छलफलमा नेताहरुले एकता कायम गर्न र मिलेर जान सुझाव दिएको बुझिएको छ ।