विस्तृत शान्ति सम्झौताको १४ वर्ष, ६० दिनमा सक्ने भनिएका काम अझै अधुरैः पीडकहरुको हालीमुहाली, द्वन्द्वपीडितले पाएनन् न्याय

विस्तृत शान्ति सम्झौताको १४ वर्ष, ६० दिनमा सक्ने भनिएका काम अझै अधुरैः पीडकहरुको हालीमुहाली, द्वन्द्वपीडितले पाएनन् न्याय

  • शुक्रबार, मंसिर ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.2K
    SHARES

काठमाडौं, ५ मंसिर ।
विस्तृत शान्ति सम्झौताको १४ वर्ष पुरा हुँदा समेत द्वन्द्वपीडितले पाएनन् न्याय पाउन सकेका छैनन् । नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको आज १४ वर्ष पूरा भयो ।
तर शान्ति सम्झौता गरिएका कतिपय महत्वपूर्ण विषयहरु अहिले पनि कार्यान्वयन गरिएका छैनन् ।
तत्कालीन विद्रोही माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धलाई शान्तिपूर्ण अवतरण गराउन २०६३ साल मंसिर ५ गते विस्तृत् शान्ति–सम्झौता भएको थियो ।
१४ वर्षमा न शान्ति–सम्झौताले पूर्णता पायो, न त द्वन्द्वपीडितले नै न्याय पाउन सके ।शान्ति सम्झौताले ६० दिनमै सम्पन्न गर्ने भनिएका काममा एक दशक बढी हुँदा पनि कामहरु अझै अधुरी छन् ।

शान्ति–सम्झौता ६ महिनामा टुंग्याउने प्रतिबद्धता जनाएका राजनीतिक दलले १४ वर्षसम्म पनि पीडितका भावनालाई सम्बोधन गर्न सकेका छैनन् ।

सम्झौताको १४ वर्ष पूरा भएपनि द्वन्द्व व्यवस्थापनका महत्वपूर्ण पक्षहरुको भने अझै सम्बोधन हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेको शान्ति–सम्झौतामा ६ महिनाभित्र द्वन्द्वसँग सम्बन्धित सबै विषय टुुंग्याउने उल्लेख थियो ।

सम्झौता अनुसार सशस्त्र लडाईको औपचारिक अन्त्यको घोषणा, माओवादी सेना र नेपाली सेनाको हतियार संयुक्त राष्ट्रसंघले प्रमाणीकरण र अनुगमन, माओवादी लडाकुको रेखदेख समायोजन र पुनर्स्थापना, राजाको सबै राजनीतिक अधिकार अन्त्य जस्ता प्रावधानहरु पूरा गरिए ।

तर माओवादीले कब्जा गरेका सबै सम्पत्ति फिर्ता गर्ने, मानव अधिकार र अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी कानूनहरूको पूर्ण पालना गर्ने, बेपत्ता छानविन गरी सार्वजनिक गर्ने, तात्कालीन समयमा राज्य र विद्रोही दुबै पक्षबाट गरिएका घटनाहरुको सत्य स्थापित गरी पीडितलाई परिपूरणको व्यवस्था गर्ने बचन अझै पूरा भएका छैनन् ।

बेपत्ता छानविन र उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरिए पनि त्यसले आशातित काम गर्न सकेको छैन ।

दश वर्षे हिंसाबाट पीडित र विस्थापित व्यक्तिलाई पुनर्स्थापना गर्ने काम सोचेअनुरुप हुन सकेको छैन । आठ वर्षपछि बल्लबल्ल २०७१ माघ २८ मा गठित बेपत्ता पारिएका व्यक्ति खोजविन र सत्य निरूपण तथा मेलमिलाप आयोगले तोकेको काम गर्न सकेन ।

आयोगलाई राजनितिक दलले सत्यतथ्य पत्ता लगाउने बलियो आयोग भन्दा पनि आफ्ना मान्छे भर्ती गर्ने केन्द्र बनाएका छन् ।

स्वयं द्वन्द्व पीडित र अन्तर्राष्ट्रिय जगतले ती दुई आयोग गठन र त्यसलाई दिइएका कार्यादेशहरुको आलोचना गरेका छन् ।

मुलुकमा राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गरिए पनि राज्य सञ्चालनको जिम्मेवारीमा पुगेकाहरुमा राजतन्त्रात्मक सोच र म नै राज्य हुँ भन्ने मानसिकता कायम रहँदा जनताले आधारभूत रुपमा परिवर्तनको कुनै अनुभूति गर्न सकेका छैनन् ।

संविधान ल्याउन कै लागि दुई(दुई पटक संविधानसभाको निर्वाचन गरिए पनि २०७२ साल असोज ३ मा जारी गरिएको संविधान कार्यान्वयनको जटिलता जस्ताको तस्तै छ ।

घरेलु मुद्दा र सरोकारमा विदेशीलाई आमन्त्रण गर्दा निर्णायात्मक क्षमता नेपालीको हातबाट फुत्कँदै छ । विकास, सम्मृद्धि र आफ्नै घरआँगनमा राज्यको सेवा पाउने जनआकांक्षा दलीय स्वार्थमा नै रुमलिएको छ ।

संघीयता अनुसार मुलुकमा तीनवटा सरकार भएतापनि शासन गर्नेको शैली उही पुरानै छ । जसका कारण नागरिकले संघीयताका विरुद्धसमेत आवाज उठाउन थालेका छन् ।

१४ वर्षको अवधिमा १० औ वटा सरकार परिवर्तन भए पनि सरकारको प्राथमिकतामा शान्ति प्रक्रिया परेको देखिएन ।

दश वर्षको आन्तरिक द्वन्द्व व्यवस्थापनपछि द्वन्द्वपीडितमा जुन उत्साह देखिएको थियो, अहिले न्याय पाइने विश्वास घट्दै गएको छ । केही सकारात्मक र आशालाग्दा काम भए पनि मूल काम थाँती रहेको छ । द्वन्द्व पीडकलाई कारबाही र पीडितलाई न्याय दिने कुरा भाषणमै सीमित भएको छ ।

बरु विभिन्न प्रतिवेदनले पीडक किटान गरेकाहरु कै राज्य सत्तामा हालिमुहाली छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ