काठमाण्डौं कार्तिक २५ । नेकपा भित्र देखा परेको विवादले अझै साम्य हुने संकेत दिएको छैन । खास गरी प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली बैठक बस्न तयार नभएकाले विवाद अझै बढ्दै गएको देखिएको छ ।
ओली ईतरका प्रचण्ड नेपाल समुहले बैठक बसेर त्यसले गरेका निर्णयहरु कार्यन्वयन हुनु पर्ने अडान राखिरहेका छन् तर ओली बैठक बस्न तयार अझै नभएको नेताहरुको भनाई छ ।
ओलीलाई बहुमत सचिवालय सदस्यहरुले शुक्बार पत्र नै लेखेर बैठक बस्न अनुुरोध गरे पनि उनले सहमति दिएका छैनन् । सोमबार सम्मको अल्टिमेटम सकिए पछि आज सम्मको पुनः अल्टिमेटम दिईएको थियो । तर त्यसमा पनि ओली तयार भएनन् ।
आज प्रचण्डले पुनः ओलीलाई बालुवाटारमा भेटेर बिहिबार बैठक राख्न प्रस्ताव गरेका छन् ।
त्यसमा पनि ओली सहमत भईनसकेको तर सहमत हुन सक्ने अपेक्षा भने अन्य नेताहरुले राखेका छन् ।
आज धुम्बाराहीमा भएको सचिलायको अनौपचारीक छलफलमा प्रचण्डले ओलीसगँको भेटबारे ब्रिफिङ गरेका थिए ।
ओलीले आफू बिरुद्ध गुटबन्दी भएको भन्दै बैठक टार्ने र नेताहरुलाई आफ्नो पक्षमा पारेर बहुमत हासिल गर्ने कोशिस गरीरहेको अन्य नेताको बुझाई रहेको छ ।
यदी बिहिबार ओली आएनन् भने हुुन्छ के ?
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले सम्म अध्यक्ष ओली बैठकका लागि तयार नभए पनि अन्त्य सम्ममा हुन सक्ने आशा व्यक्त गरे । तर यो बिहिबार ओली आए पनि वा नआए पनि नेकपाको सचिवालयको बैठक धुम्बाराहीमा प्रचण्डको अध्यक्षतामा बस्ने छ ।
यस अघि पनि गत असार १० गते शुरु भएको स्थायी समितिको बैठकमा स्थगित हुँदै बस्दै गर्ने क्रममा पटक पटक ओलीले बैठक छाडेर हिँड्ने र बैठकमा उपस्थित नँहुदा प्रचण्डले बैठक बसालेका थिए ।
तर यस पटक परिस्थिति सहज हुने छैन । ९ सदस्यीय सचिवालयमा प्रचण्ड नेपाल पक्षमा ५ जना र ओली पक्षमा चार जना रहेका छन् । बुहमत सचिवालयको बैठकले पार्टी र सरकारबारे निर्णय गर्न सक्ने छ । ओली पक्षीय एक नेताका अनुसार ओलीको उपस्थिति विना हुने बैठकको औचित्य रहने छैन भन्ने बुझाई उनीहरुको छ ।
यस्तोमा पार्टी भित्र अझ तनाब र विवाद उग्र हुने पुर्वानुमानहरु शुरु भएका छन् ।
आफ्नो उपस्थिति विना पार्टीको औपचारीक बैठक बसे त्यो फुटको विन्दु हुने चेतावनी ओलीले यस अघि नै दिईसकेका छन् । ओलीले प्रचण्डलाई अलग हौँ भनेर समेत यस अघि भनिसकेको चर्चा समेत भएको थियो ।
ओलीले आफू पक्षीय नेताहरुसगँ, कार्यकर्ताहरुसगँ भेटघाट, जुम भेला जस्ता गतिविधि जारी राखेका छन् ।