काठमाण्डौं कार्तिक २५ । नेपाल कम्युनिष्ट पार्टी भित्र बढ्दो विवादका बीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले बैठक बस्न नमानेका कारण अब कार्यकारी अधिकारको प्रयोग गर्ने तयारीमा प्रचण्ड लागेको चर्चा शुरु भए पछि ओलीले पुनः छलफल थालेका छन् ।
ओलीले बालुवाटार बोलाए पछि प्रचण्ड वालुवाटार पुगेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । यस अघि पनि ओली र प्रचण्डबीचको छलफल सकारात्मक नभए पछि प्रचण्डले सचिवालयको अनौपचारीक बैठक राखेका थिए ।
त्यस पछि माधव नेपालसगँ छलफल गरेका ओलीले आज प्रचण्डसगँ गरेको छलफलको बिबरण सार्वजनिक भएको छैन । बालुवाटारबाट प्रचण्ड फर्किए पछि पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालयका सदस्यहरुबीच अनौपचारीक छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आज बेलुकासम्म कुनै सहमति नभए प्रचण्डले कार्यकारी अधिकार प्रयोग गरेर पार्टीको औपचारीक बैठक थाल्ने चेतावनी पछि यो छलफलले तीव्रता पाएको हो ।
यस अघि शनिबार दिईएको लिखित पत्रमा ओलीलाई बैठक राखेर छलफल गर्न सोमबार सम्मको समय दिईएको थियो ।
यसबीचमा माधव कुमार नेपाललाई छलफल गरेर पूर्व एमाले एक हुनु पर्ने प्रस्ताव राखे पनि नेपालले कार्यशैली र पार्टी निर्णय कार्यन्वयनको कुरा उठाएर सहमति नजनाए पछि ओली लगभग अल्पमतमा परेका छन् ।