गणेशमान सिंहको जन्मजयन्तीः शोभाभगवतीमा पुगेर सांसद श्रेष्ठले गरे सालिकमा माल्यार्पण

गणेशमान सिंहको जन्मजयन्तीः शोभाभगवतीमा पुगेर सांसद श्रेष्ठले गरे सालिकमा माल्यार्पण

  • सोमवार, कार्तिक २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.1K
    SHARES

काठमाडौं, २४ कार्तिक ।
नेपाली कांग्रेसका यूवा नेता तथा सांसद दिपेन्द्र श्रेष्ठले कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको १०६ औँ जन्मजयन्तीको अवसरमा उहाँको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

जन्मजयन्तीका अवसरमा आज बिहान काठमाडौंको शोभाभगवती पुगेर स्व. सिंहको योगदानको सम्झना गर्दै उहाँले शालिकमा माल्यार्पण गर्नुभएको हो ।

सो अवसरमा उहाँले मूलुकमा लोकतन्त्र प्राप्तिको लागि निश्वार्थ भावले समर्पित नेता सिंहले प्रधानमन्त्री पद समेत त्याग गरी बिश्वको राजनीतिमा पृथक पहिचान दिई राजनीति भनेको समाज वा राष्ट्रप्रति समर्पित हुने पबित्र पेशा हो भन्ने ज्वलन्त उदाहरण प्रश्तुत गरेको भन्दै चर्चा गर्नुभएको थियो ।

विपरित धारमा रहेका कम्युनिष्टहरुसँग कार्यगत एकता गर्दै २०४६ सालको आन्दोलनको नेतृत्व गरेका गणेशमान सिंहलाई सर्वमान्य नेता र लौह पुरुषका रुपमा पनि चिनिन्छ । वि.सं.१९७२ साल कात्तिक २४ गते काठमाडौको चाक्सिबारीमा जन्मिएका गणेशमान सिंहको निधन वि.सं. २०५४ असोज २ गते भएको थियो ।

को हुन् गणेशमान ?
काठमाडौंको खानदानी परिवारमा जन्मिएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए । भद्रगोल जेल फोडेर भागेपछि भारत प्रवासमा गएको बेला वीपी कोइरालासँग मिलेर उनले २००३ सालमा नेपाली कांग्रेस स्थापना गरेका थिए ।

२००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए । संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा चिनिन्थे ।

पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्रीसमेत बनेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर काराबासको सजायँ भोगे । जेलमा कठोर यातना पाउँदा पनि गोपनियता नखोलेको र आफ्नो लक्ष्यमा दृढ रहेपछि उनलाई ‘लौह पुरुष’ (फलाम जस्तो कठोर मानिस)को उपमा दिइएको हो ।

आठ वर्षे काराबासपछि पुनः प्रवासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बीपीसँगै उनी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । तर, तत्कालीन पञ्चहरूबाट बीपीसँगै उनलाई पनि मृत्युदण्डको सजायँ सुनाएको थियो । उनले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

बीपीको निधनपछि कांग्रेसको सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन सुरु गरेका थिए । १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका धनी गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

जनआन्दोलन पश्चात तत्कालीन राजा वीरेन्द्र शाहले गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए । तर उनले प्रधानमन्त्री बन्न अस्वीकार गरी आफ्नो साथी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ