काठमाण्डौ कार्तिक २३ । पार्टी भित्र आफै अल्पमतमा परेर बैठकै राख्न अस्वीकार गर्ने र बैठकले गरेका निर्णय समेत कार्यन्वयन गर्न नमानेको भन्दै बहुमत नेताहरुले बिरोध जनाईरहेका बेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज माधव नेपाल सहित उनी पक्षधर नेतासगँ छलफल गरेका छन् ।
बालुवाटारमा डेढ घण्टा लामो छलफलमा वरिष्ठ नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त समेत सहभागी रहेका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्रीले सहकार्य गरेर जान नेता नेपाल समक्ष प्रस्ताव राखेका थिए ।
हिजो मात्रै सचिवालयका बहुमत सदस्यले औपचारीक बैठक राख्न लिखित रुपमा प्रधानमन्त्री ओलीलाई पत्र दिएका थिए ।
यस अघि पनि पटक पटक ओलीले नेपालसगँ छलफल गरेर सहकार्यको प्रस्ताव राखेका थिए । उनले कहिले काँही बामदेव गौतमलाई पनि छलफल गर्ने गरेका थिए । तर पनि ओलीको बोली भरपर्दो नभएको भन्दै उनीहरु ढुक्कले सहकार्य गर्न तयार छैनन् । त्यसमा पनि माधव कुमार नेपाल शुरु देखि नै एक व्यक्ति एक जिम्मेवारीको पक्षमा उभिदै आएका थिए ।
पछिल्लो समय ओली बिरुद्ध प्रचण्ड र माधव नेपाल पक्ष एकजुट भएकाले प्रचण्डलाई नेतृत्व दिन नहुने भन्दै नेपाललाई कन्भिन्स गर्ने प्रयास ओलीले गदैै आएका छन् ।
ओलीले कम्तीमा पूर्व एमाले समुह एक हुनु पर्ने तर्क राख्ने गरेको एक नेपाल पक्षीय नेताले बताए ।
ओलीले माधव नेपाल समक्ष आउदो महाधिवेशनबाट नेतृत्व लिने गरी अघि बढ्नुस् भन्दै प्रस्ताव गर्दै आएका छन् ।
तर यसमा ठोस कुनै सहमति नभएको ती नेताले बताए ।
पछिल्लो समय आफ्नो बिरुद्ध गुटवन्दी र घेराबन्दी गरेर आफैलाई कुर्सीबाट हटाउन प्रचण्ड माधव नेपाल र झलनाथ खनाल सहितका नेता लागेको ओलीले बताउदै आएका थिए ।
कम्तीमा माधव नेपाल पक्षलाई प्रचण्डसगँको गठबन्धनबाट हटाउने हो भने ओली पक्षले आफू बहुमतमा हुने र पार्टी र सरकार चलाउन सजिलो हुने महसुस गरेको आशंका गरिदै आएको छ ।