नोभमेम्बर ३ मा भएको अमेरीकी राष्ट्रपतिय निर्वाचनमा जो बाईडेनले बाजी मारेसगैँ अब करीब २ महिना पछि ह्वाईट हाउस प्रशासनलाई बाईडेन एडमिनिस्ट्रेसनको नामले चिनिने छ । जो अहिले ट्रम्प प्रशासनका नामले चिनिएका छन् । कार्यकारी राष्ट्रपति भएका हुनाले अमेरीकाको निर्णय राष्ट्रपतिको विवेक र नीतिहरुमा भर पर्ने गरेको देखिन्छ ।
यस्तोमा अहिले विश्वमा उदीयमान महाशक्ति चीनलाई रोक्ने प्रयासमा ट्रम्प प्रशासनले व्यापार युद्ध देखि कुटनीतिक तनाव हुँदै संभावित सैन्य घेराबन्दीको उपायहरु अपनाएर विश्व राजनीतिमा नयाँ संकट सिर्जना गरे । ताईवानलाई निरन्तर हतियार बेच्ने, लद्धाख मामलामा भारतलाई खुल्ला समर्थन दिने र दक्षिणी चीनीया सागरमा चीन बिरोधी गठबन्धन सृजना गर्दै गरेका ट्रम्पको राजनीतिक भविष्य अब लगभग स्थगित बनेको छ ।
अब चीनीयाहरुले या अरु विश्वले बाईडेनले अमेरीकाको विश्व नीतिलाई या अन्तराष्ट्रिय सम्बन्धलाई कसरी अघि बढाउलान ? चीनसगँको व्यापार युद्ध देखि सैन्य तनाव सम्म के स्थिति रहला ? भन्ने बारेमा अड्कलबाजीहरु शुरु भएका छन् ।
कोरोना भाईरसलाई लिएर ट्रम्पले चीनीया र वुहान भाईरस भन्दै तनावलाई अझ उच्च बनाएका बेला बाईडेनले यो तनावलाई ब्रेक गर्ने नयाँ उपायहरुको खोजी गर्लान् कि भन्ने पनि कतिपयको अनुमान छ ।
चीनको फुदान बिश्व विद्यालयका अमेरीका सेन्टरका निर्देशक छिन क्वीङले चीन र अमेरीकाबीच रणनीतिक र आत्मीय विस्वास पैदा हुन समय लाग्ने तर केही संवादहरु भने हुन सक्ने अनुमान गर्दछन् ।
रेनमिन विश्व विद्यालयका अन्तराष्ट्रिय अध्ययनका विज्ञ जिन क्यानरोङ बाईडेन परिपक्व तरीकाले बैदेशिक मामलाहरु ह्याण्डल गर्न अनुभवी रहेकाले उनले प्रोफेसनल कुटनीतिज्ञहरु चीनका सन्दर्भमा नियुक्त गर्न वा खटाउन सक्ने अनुमान गरे । यद्यपि, ओबामा प्रशासनको पालामा जुन चीन अमेरीका सम्बन्ध थियो, त्यो स्तरमा पुग्न धेरै समय लाग्ने सहज नभएको उनले बताए ।
चीन मामलामा बाईडेनको फरक मापदण्ड हुन सक्छ तर फरक दिशा निर्देश हुन कठिन छ , जीनले भने ।
तर कतिपय विज्ञले ट्रम्प प्रशासनले लिएका चीन नीतिहरुमा बाईडेनले ठूलो बदलाव ल्याउने संभावना कम रहेको तर्फ पनि औल्याएका छन् ।
बाईडेन निर्वाचित हुनु अघि अक्टोबरमा गरिएका पुर्वानुमान र विष्लेषण अनुसार उनी आएमा चीनीया बस्तुहरुमाथिको अतिरिक्त कर घट्ने प्रक्षेपण गरिएको थियो । त्यस्तो रिपोर्ट अमेरीकी सञ्चार माध्यमहरुमा स्वीस बैंकका विज्ञहरुलाई आधारीत बनाएर प्रकाशित भएका थिए । सिनको बुझाईमा बाईडेनले तत्कालै स्वतः चीनीया बस्तुहरुमाथिको अतिरिक्त कर हटाईहाल्ने छैनन् तर केही घटाउदै लान सक्नेछन् । र वार्ताहरु हुन सक्ने छ । ट्रम्प प्रशासनका गल्तीहरु नदोहोर्याउन बाईडेनका सल्लाहकारहरुले सुझाउन सक्ने अनुमान गरिएको छ ।
ताईवान र हङकङ मामलामा के गर्ला अमेरीकाले ?
चीनसगँ सम्बन्ध सुधार वा विगारको अवस्था भनेको एक चीन नीतिको प्रश्न पनि रहेको छ । हालैका दिनहरुमा ट्रम्प प्रशासनले ताईवानलाई बढी नै महत्व दिएको छ र हतियारहरु निर्यात गरीरहेको छ । यो चीनका लागि सबै भन्दा टाउको दुखाईको बिषय बन्ने गरेको छ । सन् १९४९ बाट च्याङकाई शेकले नियन्त्रणमा लिए यता एक देशकै भागको रुपमा ताईवानलाई चीनले लिईरहेको छ । तर ताईवानका सत्तासीनहरु अलग्गै देशको रुपमा उभ्याउने प्रयास गरीरहेका छन् र यसलाई अमेरीकाले साथ दिईरहेको छ । यो विषयमा भने बाईडेनले पनि के गर्ने हुन् एकीन छैन तर अमेरीकाको रिपव्लिकन र डेमोक्रयाट्स दुबै ताईवानसगँ सम्बन्ध बढाउन चाहिरहेका हुनाले बाईडेनले के नीति लिन्छन् भन्ने प्रतिक्षाको बिषय छ ।
अर्को हङकङमा प्रजातन्त्र पक्षहरुले हालै गरेको आन्दोलन पछि चीनले राष्ट्रिय सुरक्षा कानुन पारित गरेर लागू गरेको छ । र त्यसको बिरोधमा अमेरीका बेलायत आदि रहेका छन् । यस मामलालाई लिएर जारी अमेरीकी प्रतिवन्ध पनि कायम रहन सक्ने चीनीया विज्ञहरुको अनुमान रहेको छ ।
चीन र अमेरीका बिश्वका दुई ठूला आर्थिक तथा सामरीक शक्ति हुन् । उनीहरुको अन्तरविरोध र द्धन्दले सिंगो विश्वलाई प्रभावित पार्न सक्छ । अतः विश्वमा शान्ति र स्थीरताका लागि अमेरीका र चीनबीच द्धन्द हैन सहकार्यमा जोड गर्नु दुबै देशका शासकहरुले ध्यान दिन जरुरी छ ।