काठमाण्डौं कार्तिक २१ । नेकपा भित्र बढीरहेको आन्तरीक संकटका बीच पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले आज सचिवालयको अनौपचारीक बैठक बोलाएका छन् ।
हिजो बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसगँ बैठक राखेर छलफल गर्ने प्रस्ताव लिएर गए पनि ओली तयार नभए पछि प्रचण्ड आफैले अनौपचारीक बैठक बोलाएको स्रोतको दाबी छ ।
अनौपचारीक बैठक दिँउसो तीन बजे धुम्बाराहीमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुने संभावना कम रहेको स्रोतले जनाएको छ ।
यस अघि पनि असार १० गते बालुवाटारमै शुरु भएको स्थायी समितिको बैठकमा ओली उपस्थित नभएका बेला प्रचण्डले बैठक बसालेका थिए ।
प्रधानमन्त्रीको राजीनामा, संवैधानिक नियुक्ति एवं मन्त्रीमण्डल पुनर्गठन, प्रधानमन्त्री ओलीले भारतीय प्रमुख जासुस सामन्त गोयलललाई भेटेको बिषयले पार्टीमा आन्तरीक विवाद बढेको छ ।
अहिले ओली पक्ष र प्रचण्ड पक्षले आ आफ्ना पक्षका नेताहरुसगँ अनौपचारीक छलफलहरु चलाईरहेका छन् ।