काठमाडौ, १९ कार्तिक ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई मागिखानेको शहर भनेर विश्वलाई चिनाउने काम गर्नु नहुने बताए ।
महानगरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाक्यले रत्नपार्क लगायतका काठमाडौं महानगर क्षेत्रभित्रका विभिन्न सार्वजनिक र भीडभाड हुने स्थलहरूमा जथाभाबी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचेक्य्राइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र साँस्कृतिक सहरका रुपमा परिचित काठमाडौँ मागिखानेहरुको सहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने महानगरको चाहना रहेको बताए ।
उनले कोभिड–१९ का कारण प्रभावित भएका काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्नेलाई काठमाडौं महानगरपालिकाले सुरुदेखि नै राहत वितरण् लगायतका सहयोग गर्दै आइरहेको पनि दाबी गरे ।
लकडाउन अवधिभर काठमाडौं महानगरपालिकाले १ लाख ५० हजारभन्दा बढी परिवारलाई राहत वितरण गर्नुका साथै ३२ वटै वडामार्फत ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने मूल नाराका साथ खान नपाउने, बेरोजगार, अशक्त र असहायलाई खाना खुवाउने काम गरेको पनि मेयर शाक्यले बताए । २ लाख ५० हजार बढीलाई खाना खुवाएको शाक्यको भनाई छ ।
कोभिड महामारीले गर्दा रोजगारी गुमेर खान नपाएका कोही पनि महानगरवासी भए आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा भोकै बस्न नपर्ने गरी सहयोग गर्न काठमाडौं महानगरपालिका प्रतिबद्ध रहेको मेयर शाक्यले बताए ।
उनले लकडाउन खुलिसकको अवस्थामा समेत खुल्ला स्थानमा खाना खुवाउने र श्रम गर्न नागकिलाई अल्छि बनाउन नहुने बताए । उनले भने, ‘अहिले मुलुकमा लकडाउन छैन । यस्तो बेलामा हामी सबैले समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिन्छ, त्यसैले खुल्ला स्थानमा होईन पार्टी प्यालेस या रेस्टुरेन्ट लगेर खाना खुवाउनुस् महानगरले पैसा तिरिदिन्छ ।’
‘काठमाडौंलाई गरिखानेहरूको सहरका रुपमा चिनाउनुपर्छ भन्ने हाम्रो मान्यता रही आएको छ । कोरोना महामारीका कारण रोजगारी गुमी केही समयका लागि हातमुख जोड्ने समस्याले पेट भर्नकै लागि ताँती लागेका नागरिकहरूको निर्दोष अनुहारलाई सन्चारमाध्यम, युटुब र सामाजिक सञ्जाललगायतमा व्यापक बनाउँदा कसैलाई क्षणिक लाभ पुगे पनि सम्बन्धित नागरिकको आत्मसम्मानलाई भने यसले आघात पुर्याउने कुराप्रति सबै सचेत हुनुपर्ने पनि मेयर शाक्यले बताए ।