काठमाडौं, १३ कार्तिक । पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी लगायतका बिषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउसो १ बजे बस्नै बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितका लागि बोलाईएको छ ।
कांग्रेसले फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन गर्ने गरी तालिका सार्वजनिक गरे पनि अहिलेसम्मको तयारी नभएकेले महाधिवेशन नै सर्ने सम्भावना रहेको नेताहरुले बताउन थालेका छन् ।
अधिकाँश नेताहरूले फागुनमा संभव नहुने भन्दै मिति सार्न सुझाव समेत दिएका छन्।
शुक्रबारको बैठकमा महाधिवेशनको कार्यतालिका परिवर्तनबारे पनि छलफल भएर निर्णय हुनसक्ने सम्भावना रहेको एक नेताले बताए ।
महाधिवेशनको मिति सर्ने लगभग निश्चितजस्तै भएको स्रोतको भनाई छ ।
असार १३ गतेको केन्द्रीय समितिको बैठकले संशोधित कार्यतालिका पारित गरेको थियो।संशोधित कार्यतालिका अनुसार २०७७ पुस ६ मा गाउँ र नगर वडा अधिवेशन गर्ने, पुस ८ मा गाउँ र नगरपालिका अधिवेशन गर्ने, पुस ११ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने, पुस १३ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन ९एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन० गर्ने, पुस १६ मा ९एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा० अधिवेशन गर्ने, माघ ६ मा प्रदेश अधिवेशन गर्ने र फागुन ७ देखि १० सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने गरी निर्धारण गरिएको थियो।
तर अहिलेसम्म महाधिवेशनको कार्यतालिका अनुसार क्रियाशिल सदस्यता वितरण तथा नेतृत्व चयन र यसको व्यवस्थापकीय तयारी सुरु हुन सकेको छैन । बरु पार्टीभित्रको आन्तरिक कलह भने बढ्दै गएको छ ।
कोरोना संक्रमणको महामारीले गर्दा पनि कार्यतालिकाअनुसार स्थानीय तहमा काम हुन सकेको छैन। पहिले नै सक्नुपर्ने संगठन समायोजनको काम अझै सकिएको छैन ।
असार मसान्तभित्र पार्टीको अन्तरिम संरचना समायोजनका काम सकाउने अनि साउन मसान्तभित्रै क्रियाशील सदस्यता नविकरण र वितरणको काम सकाउने भनिएको थियो। तर काम हुन सकेको छैन ।
रामचन्द्र पौडेलसहितको असन्तुष्ट पक्षले क्रियाशील सदस्यतासहित १४औं महाधिवेशन स्वच्छ, निष्पक्ष हुनेमा आशंका व्यक्त गर्दै केन्द्रीय कार्यालय सानेपामा विरोधपत्र दर्ता गराइसकेको छ। नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितका २७ केन्द्रीय सदस्यको हस्ताक्षसहितको विरोधपत्र दर्ता गराउँदै आफ्ना माग पूरा नभए विरोधका थप कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् ।
विधानअनुसार वर्तमान केन्द्रीय समितिको ४ वर्षको कार्यकाल गत फागुनमै सकिएको छ। विधानको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल थप गर्दै १४औं महाधिवेशन फागुन ७ देखि गर्ने भनी गत माघ १३ गते बसेको केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो। अतिरिक्त एक वर्ष कार्यकाल बढाउन पाउने पार्टी विधानको सुविधाको कांग्रेसले उपयोग गर्दै आएको छ । फागुनमा महाधिवेशमा भने गर्नुपर्ने हुन्छ ।