कार्तिक ६, काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल स्वदेश फर्किएका छन् ।
भारतीय गुप्तचर प्रमुख गोयलको टोली विहीबार बिहान आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट दिल्ली फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा स्रोतले जनाएको छ । बुधवार नेपाल आएका उनी प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री लगायतलाई भेटेर आज दिल्ली फर्किएका हुन् । यद्धपि बुधबार दिउँसो नेपाल आएका गोयलले क–कसलाई भेटे भन्नेबारे सरकारले सम्पूर्ण सूचना गोप्य राखेको छ ।
सत्तारुढ नेकपाकै सचिवालयका नेताहरु समेत गुप्तचर प्रमुख गोयलको भ्रमणबारे अन्योलमा छन् । कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले पत्रपत्रिका पढेर भारतीय गुप्तचरको भ्रमणबारे थाहा पाएको प्रतिकृया समेत दिन भ्याए । तर गोयलले प्रधानमन्त्री सहित पूर्व प्रधानमन्त्रीहरुसँग समेत भेट्ने कार्यक्रम रहेको जनाईएको थियो ।
अध्यक्ष प्रचण्डको सचिवालयले भारतीय गुप्तचर गोयलसँग प्रचण्डको भेट नभएको बताएको छ ।