२९ असोज काठमाडौं । तीन जना नयाँ मन्त्री थपिए लगत्तै सरकारले करीब एक दर्जन सचिवलाई सरुवा गरेको छ ।
आज बसेको मन्त्रीपरिषद् बैठकले कोरोनाबारे कुनै पनि छलफल नगरेको तर सचिवहरुको भने व्यापक सरुवा गरेको स्रोतले जनाएको छ ।
यसरी सरुवा हुने सचिवहरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम युवा तथा खेलकुद मन्त्रालयमा आएका छन् भने खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया सार्वजनिक खरीद अनुगमन कार्यालयमा पुर्याईएका छन् ।
प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा ल्याईएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगका सरुवा गरिएको छ भने सो आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ । सिञ्चाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा लगिएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाईएको छ ।
प्रधानमन्त्री ओलीले हिजो विष्णु पौडेललाई अर्थमन्त्री, लीलानाथ श्रेष्ठलाई महिला बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री र कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रीमा नियुक्त गरेका थिए ।