असोज २९ काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम सँगै मृत्यु हुने क्रम बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै देशभरी गरी १९ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ।
देशैभरी संक्रमित बढेसँगै उनीहरुले समयमा उपचार नपाउदा र अस्पतालमा भर्ना हुन समेत नपाउदा मृत्यु हुने क्रम बढेको छ । यसरी विरामीको भर्ना नलिएरै मृत्युवरण गर्न बाध्य पर्ने अस्पताल मध्य धरानको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत रहेका छन् । कतिपय संक्रमितको घरैमा पनि मृत्यु हुने गरेको छ ।
धरानमा पछिल्लो समय मात्रै तीन जनालाई भर्ना नगर्दा ज्यान गएको भन्दै सर्वत्र आलोचना भएको छ । यस अघि असोज ४ गते पनि एक विरामीलाई भर्ना नगरी ३ घण्टा बढी एम्बुलेन्समै राखिदिदा मृत्यु भएको थियो । सो घटनामा परिवारले विरोध जनाए पछि छानविन गरेर दोषी चिकित्सकमाथि कार्बाही गर्ने प्रतिवद्धता अस्पतालले जनाए पनि अहिले सम्म कार्बाही गर्न सकेको छैन ।
उपकुलपति ज्ञानेन्द्र गिरीको नेतृत्वमा कोभिड अस्पतालमा कमसल भेन्टिलेटर र उपकरण राखेर विग्रिएको छ । कमिसनको खेलमा उनीहरुले सस्तो सामाग्री ल्याएर राख्नाले यो समस्या आएको धरानका स्थानीयले बताएका छन् । अख्तियारमा उजुरी समेत परे पनि उपकुलपति गिरीमाथि अझै कार्बाही हुन सकेको छैन ।
उनलाई लकडाउनकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको उपकुलपति नियुक्त गरेका थिए ।
यसरी नागरिकको उपचारमा गंभीर लापरवाही बढे पनि सरकारले कडा कदम चाल्न सकेको छैन भने उपचारको भरपर्दो व्यवस्थापन गर्न सकेको छैन ।
नेपालमा आज ३७ सय ४९ जना संक्रमित थपिएका छन् । १६५९८ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् ।
यो सगैँ देशभर संक्रमितको संख्या कुल एक लाख २१ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ । संस्थागत आईसोलेसनमा १२ हजार ३३९ जना रहेका छन् । होम आईसोलेसनमा २४,१९४ रहेका छन् । आज ३५६४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ जना रहेका छन् ।
क्वारेन्टीनमा ४ हजार ८२५ जना रहेका छन् ।