सर्लाही, असोज २८ । सर्लाहीमा आज प्रहरी र काँग्रेसका कार्यकर्ताबीच झडप हुदाँ डिएसपी सहित ३२ जना सुरक्षाकर्मी र २० प्रदर्शनकारी घाईते भएका छन् । घाइते हुनेहरुमा दुईजना नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकसहित २२ प्रहरी, सशस्त्र प्रहरीका निरीक्षकसहित १० जना र २० जना प्रदर्शनकारी रहेका छन् ।
सर्लाही, रामनगर गाउँपालिका–७, सिसौटका महेन्द्र रामको हत्याको विषयलाई लिएर काँग्रेस कार्यकर्ताहरु जिल्ला प्रहरी कार्यलय घेराउ गर्न पुगे पछि झडप भएको थियो ।
प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगा हानेपछि झडप सुरु भएको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताउनु भयो ।
ठूलो संख्यामा प्रहरी कार्यालय घेराउ गर्न पुगेपछि प्रहरीले सशस्त्र प्रहरी बलबाट डीएसपी सरोज खड्काको नेतृत्वमा १०० जनाको टोली मद्दतका लागि बोलाइएको थियो । सर्लाही कांग्रेसका जिल्ला सभापति नाग्रेन्द्र रायले प्रहरीले हस्तक्षेप गर्दा झडप भएको बताए ।
गत असोज २१ गते स्थानीय चन्दुनन्न महरा र विनोद महरा पक्षबीच ढुंगा हानाहान हुँदा घाइते भएका ६५ वर्षीय महेन्द्रको उपचारकाक्रममा मृत्यु भएको थियो । मृत्युपछि उनका आफन्तले १० लाख रुपैयाँ क्षतिपूर्ति, सहिद घोषणालगायत माग गरेका छन् । प्रदर्शनकारीहरुले भने सत्तारुढ नेकपाले महेन्द्ररामको हत्या गरेको भन्दै दोषी पक्राउ गरी कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।