असोज २७ सुर्खेत । कर्णालीमा नेकपाको आन्तरीक संकटको संकेतमा देखा परेको सत्ता परिवर्तनको खेलले नयाँ मोड लिदै आएको छ । आफ्नो पद जोगाउन सक्रिय पूर्व माओवादी पक्षका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले आफू विरुद्ध अविस्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई नै सचेतक बनाएका छन् ।
उनी हुन कुर्म बहादुर शाही । उनी नेकपा भित्र माधव कुमार नेपाल पक्षका मानिन्छन् । अविस्वास प्रस्ताव गर्ने १८ मध्य ७ जना नेपाल पक्षका सांसद थिए भने ओली पक्षका ८ जना र प्रचण्ड पक्षका तीन जना ।
यसले नेपाल पक्ष मुख्य मन्त्री हटाउने खेलबाट पछि हट्न खोजेको संकेत देखिएको छ भने प्रचण्ड पक्षका तीन जनाले पनि हस्ताक्षर फिर्ता लिने गृहकार्य गरीरहेको बताईएको छ ।
बालुवाटारको ग्रिन सिग्नल भन्दै कँडेल पक्षले घरैमा सांसदहरुलाई बोलाएर खाजा खुवाएर हस्ताक्षर गराएको थियो । प्रधानमन्त्री ओलीले संकेत दिएको भन्ने उनीहरुले चर्चा गरेका थिए ।
त्यस पछि मुख्य मन्त्री शाहीले आइतबारमात्र प्रमुख सचेतक रहेका कँडेल पक्षका गुलाबजंग शाहीलाई पदमुक्त गरी उक्त स्थानमा सीता नेपालीलाई जिम्मेवारी दिएका थिए ।
अचानक देखा परेको अविस्वास प्रस्तावले पार्टी केन्द्र र अन्य प्रदेशमा पनि तरंग ल्याएको थियो ।
