धरान २७ असोज । लकडाउनकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी एक पछि अर्को विवादमा पर्दै गएका छन् ।
कर्मचारी नियुक्ति, ठेकेदारको भुक्तानी, प्रतिष्ठानको जग्गा लगायतका विषयमा विवादमा परेका गिरी सहित पदाधीकारीले पछिल्लो पटक कोभिड अस्पतालको भेन्टिलेटर सहित उपकरण र औषधी खरीदमा अनियमितता गरेको भन्दै परेको उजृरीका आधारमा अख्तियारले छानविन थालेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट आएको टोलीले सोमबार रातीसम्म बसेर कोभिड अस्पतालको छानविन गरेको थियो ।
कोभिड अस्पताल सञ्चालनका लागि केन्द्र र प्रदेश सरकारले दिएको करोडौं बजेटबाट कमसल औषधी र उपकरण खरीद गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
कोभिड अस्पतालमा खरिद गरिएका १० भेण्टिलेटर मध्य ६ वटा बिग्रिएर बिरामीले उपचार नपाएको यस अघि सार्वजनिक भएको थियो ।
त्यस अघि पनि विरामीलाई समयमै भर्ना नलिने, घण्टौ सम्म एम्बुलेन्समै राखेर ज्यानै गए पछि चर्को बिरोध पछि आन्तरीक रुपमा छानविन गर्ने प्रशासनले पीडितहरुसगँ सहमति गरेको थियो । तर अहिले विरामीको उपचार गर्न नमान्ने चिकित्सकमाथि छानविन र कार्बाही बारे पनि प्रतिष्ठानले सार्वजनिक गरेको छैन ।
कोभिड अस्पताल संचालन गर्नु अगाडि आवश्यक भेण्टिलेटर र अन्य औषधि उपकरण खरिद गर्दा आर्थिक अनियमितता भएको र खरिद गरिएका भेण्टिलेटर दुई महिना नपुग्दै बिग्रिएर काम नलाग्ने भएपछि अख्तियारले स्थलगत निरीक्षण गरी छानविन अगाडि बढाइएको अख्तियार इटहरीका प्रमुख प्रकास पौडेलले बताए।
उनले शंकास्पद खरिद प्रक्रियाका सबै विवरण माग गरिएको पनि बताएका छन् । कोभिड अस्पतलामा चहिने औषधि उपकरण खरिद गर्दा चोरबाटो अबलम्बन गरी विशेष अदालतमा विचाराधिन भ्रष्टाचार मुद्धा खेपिरहेका धरानका व्यवसायी चेतन अग्रवालसँग प्रतिष्ठानका उपकुलपती डा.ज्ञानेन्द्र गिरीले मिलेमतो गरी कमसल उपकुरण खरिद गरेको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्थलगत छानविन थालेको हो ।
यस अघि पनि आईसोलेसनमै बसेर कानुन विपरीत निर्णयहरु गरेको भन्दै उपकुलपति गिरी बिरुद्ध अख्तियारमै उजुरी परेको थियो ।
तर, गिरीले प्रक्रिया मिचेर आफूखुसटी औषधि उपकरण खरिद गरेर कोभिड अस्पतालमा कार्यरत चिकित्सकलाई समेत विभिन्न प्रकारका दबाब दिने गरेको चिकित्सकहरुको गुनासो छ ।उपकुलपती गिरीकै अवैध क्रियाकलापका कारण कोभिड अस्पताल प्रमुख कृष्णा पोखरेलले राजीनामा दिएकी छिन् । प्रतिष्ठानको खरिद शाखा प्रमुख विष्णु चापागाईलाई औषधि उपकरण खरिदमा असहयोग गरेको भन्दै गिरीले उनलाई कोरेना संक्रमित भएर आइसुलेसनमा बसेकै बेला अन्य शाखामा सरुवा गरेका थिए ।
प्रतिष्ठानमा औषधि खरिद गर्ने अधिकार रजिष्ट्रार र अपताल निर्देशकलाई मात्र हुने भएपनि उपकुलपती डा। गिरीले दुवैजनाको अधिकार खोसेर आफै कोभिड अस्पतालमा चाहिने औषधि उपकरण खरिद गरेका छन् ।
उपकुलपती गिरीले प्रतिष्ठानका रजिष्ट्रार मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहको समेत अधिकार खोसेका छन् ।
कोरोना लागेको भनेर काठमाण्डौं बसेरै गिरीले फोनका भरमा विभिन्न सरुवा,नियुक्ति नियम विपरीत खरीद जस्ता काम गर्दै आए पछि बिपीमा उनीप्रति चर्को असन्तुष्टी बढ्न थालेको छ ।
गिरीले बिरामीको समस्या पर्दा वा कुनै प्रशासनिक कामले फोन गर्दा फोन उठाउने गरेका छैनन् । उनलाई बिरामी भर्ना नगरेर एम्बुलेन्समै तीन घण्टा सम्म राखिएको विषयमा गत असोज ४ गते पटक पटक फोन गर्दा समेत उठाएनन् ।
कोभिडका नाममा बिरामीलाई समयमै भर्ना गरेर उपचार नगर्दा झापाकी पवित्रा देवी तिम्सिनाको निधन भएको थियो ।