काठमाडौं, असोज २५ । कोरोनाप्रति जनता सचेत नभएको भन्दै सरकारले पुनः लकडाउन गर्न बाध्य हुने चेतावनी दिएको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा सरकारको प्राथमिकतामा नरहेपनि नागरिक संवेदनशील नभए लकडाउन गर्न बाध्य हुने बताएका हुन् ।
उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखा पर्न थालेको छ । उपत्यकामा अब लकडाउन हुन सक्छ भन्ने चर्चा चल्दै गर्दा सरकारले यस्तो बताएको हो ।
उपत्यकामा कोरोना नियन्त्रण बाहिर गएको र कोरोना संकमितको उपचार व्यवस्थापन गर्न चुनौती देखिएको छ ।
जेष्ठ नागरिकहरुको सुरक्षा महत्वपूर्ण भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले सानो लापरवाहीले गर्दा जीवनमा नै जोखिमको अवस्था आउन नदिन आग्रह गरे ।
दशै तिहार छठमा भीड भाड र आवत जावत बढी हुने भन्दै सचेत हुन सरकारले अनुरोध गरेको छ ।