असोज २२ काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग राखी २५ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीसँ आजबाट सरकारले औपचारीक वार्ता शुरु गरेको छ । वार्ता शिक्षा मन्त्रालयमा शुरु भएको छ ।
बुधबार सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा। गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन्।
सरकारले वार्ता टोली गठन गरे लगत्तै डा. केसीको तर्फबाट वार्ता गर्न चार सदस्यीय समिति गठन भएको छ। केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको हो। डा. केसी वार्ता टोलीको सदस्यमा डा अंजनीकुमार झा, डा.लोचन कार्की र ओमप्रकाश अर्याल सदस्य छन्।
भदौ २९ गते जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो। केसीको स्वास्थ्यमा गंभीर समस्या देखिए सगैँ वार्ता गर्न देशभर चिकित्सकहरु आन्दोलनको घोषणा सहित मैदानमा उत्रिएका थिए भने काँग्रेस, नागरिक समाज सहितले चौतर्फी रुपमा वार्ताका लागि सरकारलाई दबाब दिएको थियो ।