असोज २२ काठमाण्डौं । चिकित्सक, नागरिक समाज, प्रतिपक्षी काँग्रेस सहित चौतर्फी रुपमा बढेको दबाब पछि बल्ल सरकारले अनसनरत डा. गोविन्द केसीसगँ वार्ता गर्न टोली बनाएको छ । केसी अनसन बसेको २४ दिन विते पछि वार्ता टोली बनाईएको हो ।
त्यस अघि सरकारले अनसनको औचित्य नरहेको भन्दै अनसन फिर्ता लिन आगह मात्रै गर्दै आएको थियो ।
सरकारले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका छन् ।
भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो। नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।
२४ दिनदेखि अनशनरत केसीको जीवनरक्षामा सरकारले पहल नगरेको भन्दै बुधबार नेपाल चिकित्सक संघले देशव्यापाी आन्दोलन घोषणा गरेको थियो ।
आन्दोलनका कार्यक्रम अन्तर्गत पहिलो दिन संघले बिहीबार बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोरोना उपचारबाहेक सबै सेवा बहिष्कार गर्ने भएको छ । सबै सेवा बहिष्कार गरेर जनस्वास्थ्य मापदण्ड पालना गर्दै धर्ना दिने संघले जनाएको छ।
त्यसैगरी शुक्रबार देशभर आकस्मिक र कोरोना उपचारबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने घोषणा संघले गरेको छ । अर्को निर्णय नहुँदासम्म सबै चिकित्सकले कालोपट्टी बाँधेर काम गर्ने भएका छन् । त्यसै गरी देशका विभिन्न भागमा डा. केसीको समर्थनमा प्रदर्शनहरु भएका छन् ।