काठमाडौं, असोज २१ । पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले पशुपति क्षेत्र विकास कोषको कार्यालय घेराउ गरेका छन् । मानवसाङ्लो बनाएर स्थानीयले घेरा हालेका हुन् । पशुपतिनाथको प्राचीनता समाप्त पार्ने गरी योजना ल्याएको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् ।
स्थानीय बासिन्दाले पशुपति क्षेत्रको विकासको नाममा परापूर्वकालदेखिको बस्ती मास्ने र पशुपति क्षेत्रभित्रको स्थानीय संस्कृति तथा जात्राको विनास गर्नेगरी गुरुयोजना ल्याइएको बताए ।पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान संगतले पशुपति क्षेत्रभित्र रहेका १४० पर्व र ४० ओटाभन्दा बढी जात्रा मास्ने गरी कोषले गुरुयोजना ल्याएकोले विरोध गर्नुपरेको जानकारी दिए ।
वागमती प्रदेशका प्रदेश सांसद नरोत्तम वैद्यले सरकारले स्थानीयका माग सम्बोधन गर्न खोजेको जस्तो देखाएर झुक्याउन खोजेको बताए ।