असोज १९ काठमाण्डौं । नेपाली काँग्रेसले अनसनरत डा. गोविन्द केसीको माग पुरा गर्न सरकारलाई अपील गरेको छ । सभापति देउवाले एक अपील जारी गर्दै डा. केसी अनसन बसेको २१ दिन पुगेको र पनि सरकारले गंभीरता प्रस्तुत नगरेको भन्दै दुखः व्यक्त गरेका छन् ।
आइतबार सार्वजनिक अपिल जारी गर्दै देउवाले ‘डा. केसीको अनसन २१ दिन पुगेर उहाँको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता प्रस्तुत नगरेको स्थिति अत्यन्तै दुःखद र गम्भीर छ,’ भनेका छन्।
डा. केसीको मागमा प्रतिपक्ष सहित सिंगो देशको माग भएको भन्दै देउवाले संवाद र समाधानमा उदासीनता भनेको कम्युनिष्टतन्त्रको अनुदार चरित्र भएको दाबी गरे ।
चिकित्सा शिक्षा क्षेत्रमा विसंगति बढेपछि सुधारका लागि तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले डा। केदारभक्त माथेमाको नेतृत्वमा चिकित्सा शिक्षामा सुधारका लागि उच्च स्तरीय कार्यदल गठन गरेको पनि देउवाको भनाइ छ।
चिकित्सा क्षेत्र सुधारका लागि डा. केसीसगँ भएको सम्झौता सरकारले उलंघन गरेको भन्दै उनले पुनः सवाद गरेर त्यो सम्झौता सार्थक कार्यन्वयन गर्नु पर्नेमा देउवाले जोड दिएका छन् ।
केसीको स्वास्थ्य दिन दिनै जटिल बन्दै जादा उनका समर्थकहरु सडकमै उत्रदा पनि सरकारले अनसन बस्ने उचित समय होईन भन्ने बाहेक सरकारले संवादको कुनै पहल नगरेको आलोचना भईरहेको छ ।
केसीलाई छाती दुख्न र सास फेर्न समस्या हुन थाले पछि हिजो अक्सिजन दिईएको थियो ।
