असोज १८ काठमाण्डौं । गगन थापा, अर्जुन नरसिंह केसी सहितलाई कोरोना देखिए पछि काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २५ गते सम्मका लागि स्थगित भएको छ । भोली बस्ने भनिएको बैठक कोरोना त्रासकै कारण पर सारिएको हो । पार्टी मुख्यालय सानेपामै गरिएको परीक्षणमा नेताहरु सहित १७ जनामा संक्रमण पुष्टी भएको थियो ।
केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगन थापा बाहेक जंगीलाल यादव, अजयकुमार चौरसिया र रमेश रिजाल तथा आमन्त्रित केन्द्रीय सदस्यहरु कल्पना चौधरी र शम्भुलाल श्रेष्ठमा कोरोना संक्रमण भएको छ ।
कोरोना संक्रमण देखिएकै कारण शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक पनि आइतबार बसेन । शनिबार नसिकएकाले बैठक आइतबार पनि जारी रहने भनिएको थियो ।
काँग्रेस भित्र आन्तरीक कलह व्यवस्थापन गर्न र आउदो फागुणमा गर्ने भनिएको महाधिवेशनका बारेमा छलफल गर्न बैठक बोलाईएको थियो । काँग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ति जारी गरी बैठक २५ गते सम्मका लागि स्थगित भएको जानकारी दिए ।
