असोज १६ वुटवल । नेकपाको नेतृत्वमा रहेको प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता रेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा सो प्रस्ताव पेश गरेका हुन् । उक्त प्रस्ताव पारित भए पछि नामको समेत टुंगो लाग्ने छ ।
आज बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गरेको थियो ।
दाङको देउखुरीलाई केन्द्रमा राखेर गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई पनि राजधानीमा जोड्ने प्रस्ताव गरिएको छ ।
प्रदेश पाँच सहित प्रदेश दुई र एक ले पनि नाम र राजधानी टुंगो लगाउन सकेको छैन ।
गण्डकी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशले नाम र राजधानीबारे टुंगो लगाइसकेको छ ।
यस अघि प्रदेश पाँचको राजधानी वुटवल राख्नु पर्ने र दाङमा राख्नु पर्ने माग सहित आन्दोलन भएको थियो ।