असोज १६ काठमाडौँ । राजदुत नियुक्ति जस्ता विषयले फेरी नयाँ विवाद निम्त्याउने संकेत देखिएका बेला नेकपाका अध्यक्षद्धय ओली र प्रचण्ड सचिवालयको बैठक बोलाउन सहमत भएका छन् ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको छलफलमा बैठक बोलाउन सहमति जुटेको हो ।
सचिवालय बैठक शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजदूतलगायतका नियुक्तिबारे पार्टीमा सल्लाह नगरी निर्णय लिएको भन्दै नेकपा शीर्ष नेताहरूबीच फेरि विवाद सिर्जना हुने अवस्था आएको बेला सचिवालय बैठक बस्न लागेको हो ।
प्रधानमन्त्रीले बिहीबार अमेरिकाका लागि राजदूतमा आफ्ना आर्थिक सल्लाहकार तथा पूर्वअर्थमन्त्री युवराज खतिवडालाई सिफारिस गरेका थिए । त्यस्तै, बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवबाट लोकदर्शन रेग्मीको राजीनामा स्वीकार गर्दै उनलाई बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय लिएको थियो । निर्मल विश्वकर्मालाई भने दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरिएको छ ।
यसरी एकतर्फी रूपमा राजदूत सिफारिस गरेको र एउटै व्यक्तिले पटकपटक राजनीतिक नियुक्त पाइरहेको भन्दै नेकपाका सचिवालय सदस्यहरूले नै असन्तुष्टि सार्वजनिक गरेका छन् ।असार १० को स्थायी समिति बैठक पछिको विवाद भदौमा आएर मिले पनि फेरी मन्त्रीपरिषद् पुनर्गठन गर्ने कार्य आन्तरीक व्यवस्थापन हुन नसक्दा मिलेको छैन भने प्रधानमन्त्रीले धमाधम पार्टीको निर्णय विनै विभिन्न पदमा आफू निकटका व्यक्तिहरुलाई नियुक्ति दिईरहे पछि नेकपा भित्र असन्तुष्टी बढेको छ ।