काठमाडौँ , १५ असोज ।
सरकारले चिकित्सा शिक्षा सुधारको माग राखेर १९ औँ सत्याग्रहमा बसेका डा.गोविन्द केसीको अनशनलाइ वेवास्ता गरेको छ ।
आज उल्टै डा.केसीलाइ सरकारले अनशन तोड्न आग्रह गरेको छ ।
सरकारको निर्णय सार्वजिनक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले सबै नागरिकलाई कोरोनाबाट कसरी जोगाउने भनेर लाग्नुपर्ने बेलामा अनशन, सत्याग्रह, धर्ना सुहाउँदो विषय नभएको बताएका हुन् । ।
‘एकातिर चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु कोभिडबाट जनतालाई कसरी जोगाउन सकिन्छ भनेर लागिरहनुभएको छ । यस्तो बेला अनशन, सत्याग्रह, धर्ना, हड्ताल यो बेला सुहाउँदो विषय हो र पक्कै पनि होइन’ मन्त्री ज्ञवालीले भने ।
‘केही विषय बाँकी छ भने पछि छलफल गर्न सकिन्छ । मेरो नेपाल सरकारको तर्फबाट उहाँलाई आग्रह छ, उहाँका साथीहरुलाई आग्रह छ । अहिले अनशन फिर्ता लिएर हामी सबै कोभिड विरुद्धको लडाईंमा जोडियौं । जनतालाई महामारीबाट जोगाउऔं, बाँकी विषय त हामी समय क्रममा छलफल गर्दै जान सक्छौं’ मन्त्री ज्ञवालीले भने ।
अहिले यस विषयमा सरकारलाई थप दबाब दिन जरुरी नरहेको पनि मन्त्री ज्ञवालीको दावी छ ।
ज्ञवालीले डा.केसीको पहिलेको केही मागहरु पुरा भएको र अहिलेको अवस्थामा अनशन बस्न नसुहाउने भएको बताएका हुन् ।