असोज १५ काठमाण्डौं । देशमा पद र शक्तिका लागि जे पनि गर्न तयार नेता हुन्छन भन्ने आलोचना भईनै रहने गरेको छ । पछिल्लो समय प्रतिनिधि सभामा हारेका वामदेव गौतम सम्म आउँदा र नयाँ मन्त्री कसलाई बनाउने भनेर नेकपा भित्र देखिएको रस्साकस्सीले मात्रै हैन कतिपय प्रधानमन्त्री रहेका बेला ६० जना सम्म मन्त्रीको संख्या बनाउने देश हाम्रै हो ।
सुसासन र विकासका नारा दिएर करीब दुई तिहाईको बहुमत सहित प्रधानमन्त्री भएका ओलीप्रति जनताले केही भरोसा देखाए । तर करीब तीन बर्षको अवधिमा प्रधानमन्त्री ओलीमाथि यति अविस्वास बढेको छ कि जनताले उनका हरेक अर्ती उपदेशहरुलाई ब्यग्यको रुपमा बुझ्न थालेका छन् ।
पद प्रतिष्ठामा आफ्नालाई चेप्न उनले पनि कुनै कसुर छाडेनन् । अर्थमन्त्री आफैले बनाएका डा. युवराज खतिवडालाई राष्ट्रिय सभाको कार्यकाल सकिए पछि राजीनामा दिएको भोलिपल्टै अर्थमन्त्री नै बनाए ।
त्यस पछि पार्टीमा संघर्ष चर्किए पछि खतिवडालाई राष्ट्रिय सभामा नलगि राजीनामा दिन त पर्यो । तर खतिवडाको माया प्रधानमन्त्रीले छाडेनन् । राष्ट्रबैंकको गभर्नरबाट अर्थमन्त्री हुन पाएका खतिवडा एमसीसीका कट्टर पक्षपाती हुन् । उनलाई अर्थ छाडे लगत्तै बालुवाटारमै राखेर आर्थिक सल्लाहकार बनाईयो ।
सल्लाहकार भएको एक महिना पनि बित्न नपाउदै बिहिबार उनले अमेरीकाको राजदुत पड्काउन भ्याए । ओलीको आशिर्वाद उनलाई लाग्यो ।
त्यस्तै अर्को आश्चर्य देखा पर्यो मुख्य सचिव लोकदर्शन रेग्मीले मुख्य सचिवबाट कार्यकाल सकिनु एक महिना पनि बाँकी नरहेको अवस्थामा उनले राजीनामा दिए । राजीनामा दिएको केही घण्टामै मन्त्रीपरिषद्ले स्वीकृत गर्यो र त्यही बैठकबाट उनी बेलायतको लागि राजदुत बनिहाले । स्रोतका अनुसार उनले आफूले राजीनामा दिनु पुर्व बेलायतको राजदुत मागेका थिए । उनलाई त्यो राजदुत दिएर भए पनि परराष्ट्र मन्त्रालयमा रहेका सचिव शंकर बैरागीले मुख्य सचिव हुने मौका पाए । रेग्मी २०७४ साल कार्तिक ११ गते मुख्य सचिव भएका थिए ।
यदी रेग्मीले अहिले राजीनामा नदिएर कार्तिक १० गते सम्म बसेको भए बैरागी असोज २२ मै अनिवार्य अवकाशमा जानु पर्ने थियो र मुख्य सचिव हुन पाउने थिएनन् ।
यस अघि नेपालको उच्च प्रशासक भनेर चिनिने मुख्य सचिव पदमै रहदा शान्तराज सुवेदी एडीबीको जागिरे बनेर गएका थिए र उतैबाट राजीनामा लेखेर पठाएका थिए ।
यस्ता धेरै उदाहरण छन पद, प्रतिष्ठा र पैसाका लागि कसरी लविगं हुन्छ कसरी चलखेल हुन्छ भन्ने ।
गणतन्त्र पछि परिवर्तनको ठूलो आशा बोकेका जनता अहिले भात खान खुल्ला मञ्चमा दाताको अन्न पर्खेर बस्नु पर्ने स्थिति छ । तर सिंहदरबार र वालुवाटारमा पद र पतिष्ठाका लागि दौडधुप, चलखेल र व्यस्तता बढेको छ ।
कर्मचारी प्रशासन भित्र राजीनामा दिएकै दिन अर्को नियुक्ति पाउने विरलै देखिने गलत संस्कृति देखेका पूर्व प्रशासकहरुले यो पवृतिको आलोचना समेत गरेको पाईएको छ ।
यो सरकारको नियुक्तिमा देखिएको स्वेच्छाचारीता भन्दै नेकपा भित्र फेरी यसले अर्को बबण्डर निम्त्याउने खतरा भने बढेको छ ।