असोज १४ धरान । विराट मेडिकल कलेजमा कार्यरत रहेकै बेला विभिन्न च्यानल प्रयोग गरेर बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा उपकुलपति हात पार्न सफल भएका डा. ज्ञानेन्द्र गिरीले एक पछि अर्को प्रतिष्ठानको हित विपरीत काम गरीरहेको भन्दै सरोकारवालाले चिन्ता जनाउन थालेका छन् ।
कोरोना लागेको भनेर आईसोलेसनमा छु भन्दै धेरै जसोको फोन समेत नउठाउने, लापरवाहीले विरामीको मृत्यु भएको प्रकरणमा समेत कुनै जवाफ दिन नमानिरहेका उपकुलपति कार्कीले आईसोलेसनमै बसी बसी कर्मचारी नियुक्ति, सरुवा, विना टेन्डर औषधी खरीद जस्ता काम बढाए पछि अख्तियारले समेत छानविन शुरु गरेको छ ।
डा. गिरीले विपि भित्र निर्माणाधीन अनकोलोजी र कार्डियोलोजी भवन निर्माणमा ढिलाई गर्ने र म्याद गुजार्ने निर्माण कम्पनीलाई म्याद थप्नुका साथै २१ करोड भुक्तानी समेत दिएको गुनासो प्रतिष्ठान भित्रैबाट बढेको छ ।
यस्तै डा. गिरीले प्रतिष्ठानको मोरङ, भक्तपुर लगायतका ठाँउमा रहेको जग्गा निजी क्षेत्रलाई लिजमा दिन प्रस्ताव गरेका थिए , जुन सिनेटले निर्णय गरेको थिएन ।
उनले प्रधानमन्त्री ओलीकै च्यानल प्रयोग गरेर उपकुलपति भएकै कारण नेकपाको सिफारीसमा कर्मचारी, नर्स नियुक्ति गर्न खोजेको भन्दै बिरोध हुँदै आएको थियो ।
सरकारी पदमा बहाल भएको कोरोना संक्रमित व्यक्तिले संक्रमण निको नभइन्जेलसम्म कुनै पनि काम कार्वाहि गर्न नपाउने नियम भए पनि खरीद नियुक्ति जस्ता काममा गिरी सक्रिय भएका छन् । तर अस्पतालमा उपचारको अभावमा मानिसको मृत्यु भएको बिषयमा भने उनी फोन समेत नउठाई कुनै जवाफ नदिई बसिरहेका छन् ।
कोरोना संक्रमित भएर प्रतिष्ठानको निवासमा आइसोलेसनमा बसेका गिरीले २५ जना हेल्परको नियुक्ति, खरिद र इन्जिनियरिङखाका कर्मचारीहरुको सरुवा र प्रतिष्ठानमा आवश्यक औषधि उपकरण विना टेण्डर खरिद गरेका छन् ।
यस विषयमा अख्तियारमा अख्तियारको कार्यलय ईटहरीमा उजुरी परे पछि डा. गिरीमाथि छानविन शुरु भएको हो ।
बढेको तलव नदिएको जस्ता माग राखेर चिकित्सकहरुले गरेको आन्दोलनप्रति समेत उनले सुनुवाई नगरेको गुनासो प्रतिष्ठान भित्रैबाट आएको छ ।
प्रतिष्ठानका एक पदाधीकारीले नाम उल्लेख नगर्ने शर्तमा विपि भित्र राजनीतिक पहुँच र पैसाका आधारमा नियुक्ति पाएर आउनेहरुले हदै सम्म गैरकानुनी निर्णय र प्रतिष्ठान धराशायी बनाउने र कमाउने मात्र ध्यान राख्ने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उपकुलपतिको यो गैरकानुनी निर्णय फिर्ता गर्न भन्दै कर्मचारीहरु अन्य पदाधीकारीलाई भेटेर ध्यानाकर्षण बुझाउदै हिडिरहेका छन् ।
गत चैत्र २७ गते प्रधानमन्त्री ओलीले उनलाई उपकुलपतिमा नियुक्त गरेका थिए । २७ बर्षे ईतिहासमा विपीमा पछिल्लो समय आउने एक पछि अर्को उपकुलपति भ्रष्टाचार, आर्थिक अनियमितता र गैरकानुनी काम गर्दै अख्तियारको फन्दामा पर्दै गएका छन् ।
यस अघिका उपकुलपति रौनियार पनि अख्तियारको कार्बाहीका कारण नै पदावधी नसकिदै हट्न बाध्य भएका थिए ।
अहिले नियुक्त भएका गिरी पनि स्वास्थ्य, उपचार र व्यवस्थापन भन्दा स्वार्थमै लागेको कर्मचारीहरु बताउछन् । यस्तो गतिविधि नरोके गिरी पनि पुरा अवधि टिक्न मुस्किल पर्ने उनीहरुले चेतावनी दिएका छन् ।