बझाङ , १२ असोज ।
बझाङ मष्टा गाउँपालिका-२ की १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरिएको आरोपमा पक्राउ परका राजेन्द्र बोहोरा माथि अनुसन्धान गर्दा अर्को घटना पनि बाहिर आएको छ ।
पक्राउ परेका १७ वर्षीया बोहोरालाइ अनुसन्धान गर्दा उनेले अर्को बलात्कार पनि गरेको खुल्नमा आएको हो ।
राजेन्द्रले साउन २९ गते साँझ ५ बजे मष्टा-२ कै १४ वर्षीया दमाई थरकी बालिकालाई बलात्कार गरेको अनुसन्धानमा खुलेको हो ।
अनुसन्धानका क्रममा सोधपुछ गर्दा बोहोराका परिवारले घट्ट चलाउने गरेको रहेछ ।
उक्त घट्टमा जब दमाइ थरि भएकी १४ वर्षीया बालिका त्यहाँ पुगि राजेन्द्र एक्लै बसेका थिए र उनले बलात्कार गरेको खुलेको छ ।
बलात्कारपछि दुवै पक्षबीच छलफल भएको र दुवैले कागज गरेर मिलापत्र गरेको कागज पनि भेटिएको छ।
यो घटना प्रहरीसम्म नलग्न दुवै परिवारले कागज गरेर ‘गुपचुप’ पारेको अनुसन्धानमा खुलेको छ। कागजमा साउन ३१ गते मिलापत्र गरेको देखिएको छ। दुवै पक्षका तीन–तीन जनाले कागजमा हस्ताक्षर गरेका छन्।
सो कागज गर्दा राजेन्द्रले बलात्कृत बालिकाको खुट्टामा पाँच सय रुपैयाँ राखेर ढोगेको पनि खुल्न आएको हो ।
बलात्कार र कुटपिट जस्तो जघन्य अपराधमा दुबै पक्ष पीडित पक्ष र पीडक पक्ष बीच ‘गर्भवती’ भए जिम्मा लिने सर्तमा कागजात भएपछि गाउँमा अर्को बलात्कारबाट सम्झनाको हत्या हुन पुगेको प्रहरीको निष्कर्ष रहेको छ ।
‘यदि त्यसबेला नै यो घटना प्रहरीसम्म आइपुगेको भए अर्को घटना घट्न पाउने अवस्था हुन्नथ्यो, जसकारण सम्झनाको हत्या नै निम्तियो,’ सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले भने, ‘तर, पीडित र पीडक पक्ष आपसमा मिलेर घटना गुपचुप गराएको पाइयो।’
बलात्कार जस्तो जघन्य अपराध गरेर पनि समाजमा खुल्ला रुपमा हिडिरहेका राजेन्द्रको सोच फेरि पुरानै घटना गर्नेमा उत्प्रेरीत भयो ।
त्यसछि राजेन्द्रले सम्झनालाइ पछ्याउन थाले ।
यता सम्झनाका परिवारले पनि दलित बालिकाको घटना भइ मिलेमत्तो भएको घटना थाहा पाइसकेका थिए । तर , उनिहरुले सम्झनालाइ एक्लै काममा पठाउन थाले । जसले गर्दा राजेन्द्रले सम्झनालाइ पछ्याउदाँ पनि थाहा पाएनन् ।
‘पटक(पटक पछ्याएको, कानको मुन्द्री मागेको र यो घटनाले आफू डराएको सम्झनाले भन्ने गरेको त उनका हजुरबुवा गोरखबहादुरको जाहेरीमै उल्लेख छ,’ प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भने, ‘थोरै संवेदनशील भइदिएको भए दोस्रो घटना हुँदैनथ्यो भन्ने आँकलन गर्न सकिन्छ।’
बुधबार साँझ सम्झनाको बलात्कारपछि हत्या भएको थियो। त्यसदिन सम्झना घरबाट निस्केको पन्ध्र मिनेटमै बालिकालाई राजेन्द्रले बाटोमा फेला पारेको अनुसन्धानमा खुलेको छ।
सम्झना आधा घन्टा टाढा रहेको गोठमा गाईगोरु थन्क्याउन गइरहेकी थिइन्। उनलाई आधा बाटो पुग्दै राजेन्द्रले लछारपछार पारे। उनले बोकेको डोको नाम्लो त्यही नजिकै फालिदिए र जंगलको मन्दिरमा पुर्याए।
राजेन्द्रले घटना बाहिर नल्याउन बलात्कार गरि सम्झनाको टाउकोमा ढुंगा प्रहार गरेको देखिएको अनुसन्धानमा खुलेको छ।
सम्झनाको कलेजो नै छेडिने गरी घोचेको पोस्टमार्टमको प्रारम्भिक रिपोर्ट रहेको एसएसपी सिंहले बताए।
सम्झनाको बलात्कारपछि हत्यामा अरू व्यक्तिको संलग्नता छ कि भनेर प्रहरीले अनुसन्धान गर्यो। सिंहका अनुसार राजेन्द्रसँग मिल्ने दुई जना युवा गाउँमा छन्।
तर, उनीहरू दुवै घटना भएको दिन गाउँमा नभएको पत्ता लागेको छ। ‘अपराह्न भएपछि युवाहरू गाउँको चौरमा खेल्ने गर्दा रहेछन्, राजेन्द्र पनि त्यहाँ जान्थे, तर त्यसदिन राजेन्द्र चौरमा नगएर सम्झनाको पछि लागेको देखिएको छ,’ सिंहले भने।
पढाइमा खासै ध्यान नदिने उनी उछृङ्खल गतविधिमा बढी संलग्न हुने गरेको प्रहरीको भनाइ छ।
उनी कक्षा ८ मा अध्यनरत छन् ।
‘जबरजस्ती करणीमै उनीविरूद्ध अर्को जाहेरी दर्ता गर्दैछौं, जाहेरी लिएर बालिका सदरमुकाम आइसकेकी छिन्,’ एसएसपी सिंहले भने।
मिलापत्र गराउने बोहरा र दमाई परिवारका छ जनालाई के कस्तो कारबाही गर्ने भन्नेबारे सरकारी वकिलसँग प्रहरी परामर्श गरिरहेको प्रहरीले बताए ।