असोज ९ काठमाडौँ । चीनले हुम्लामा नेपाली भू–भाग अतिक्रमण गरी भवन बनाएको भनी विवादास्पद अभिव्यक्ति दिएका हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले क्षमा मागेका छन् । उनले आफुले गल्ती बोलेको बताएका छन् ।
गृहले बुधबार हमाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । गृहको प्रशासन महाशाखामा बिहीबार दिउँसो स्पष्टीकरण पत्र पठाउँदै उनले स्थानीयले भनेको कुरामा विश्वास गर्दा आफूबाट गल्ती भएको दावी गरेका छन् ।
सहायक प्रजिअ हमालले नाम्खा गाउँपालिका–६ लिमीमा ११ नम्बर सीमास्तम्भ नै गायब भएको र चीनले एकतर्फी रूपमा भौतिक संरचना बनाएको भन्दै छानबिनका लागि स्थलगत प्रतिवेदन तयार पारी गृहमा पठाएका थिए । त्यसपछि गृहले नापी विभागसँग जानकारी लिएको थियो । नापीले पनि अतिक्रमण भनेर गलत हल्ला चलाएको भन्दै छानबिन हुनुपर्ने सुझाव दिएको थियो । परराष्ट्र मन्त्रालयले पनि गलत प्रतिवेदन बनाउने अधिकारीसँग स्पष्टीकरण सोध्न गृहको ध्यानाकर्षण गराएको थियो । गृहमा प्रतिवेदन पठाएपछि हमालले विभिन्न सञ्चारमाध्यमलाई चीनबाट भूमि अतिक्रमण भएको र छानबिनका लागि गृहमा पत्र पठाइसकेको जानकारी दिएका थिए ।
हमालसहितको टोलीले चीनले नेपाली भूमि अतिक्रमण गरेको रिपोर्ट पेस गरेपछि गृह मन्त्रालयले असोज २ गते थप अध्ययन गर्न सशस्त्र प्रहरीलाई जिम्मा दिएको थियो । त्यसपछि नेपाली सेना र सशस्त्र प्रहरीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको टोली ११ नम्बर स्तम्भ भएको स्थानतर्फ लागेको थियो । टोलीले स्तम्भ ढुंगाले छोपिएको अवस्थामा फेला पारेको थियो ।
चीनले ललुङजोङ क्षेत्रमा ४ देखि ९ वटासम्म कोठा भएका ९ वटा एकतले भौतिक संरचना पछिल्लो समय बनाएको छ । २०६६ सालमा त्यस क्षेत्रमा चीनले पशु उपचार केन्द्रका लागि भनेर दुईवटा घर बनाएको थियो । यो क्षेत्र नेपाल–चीन ११ र १२ नम्बर पिल्लरको बीचमा पर्छ । यो हुम्ला सदरमुकाम सिमकोटबाट करिब ९५ किमि उत्तर पर्छ ।
चीनले नेपाली सञ्चार माध्यममा भूमि अतिक्रमण भनेर आएको समाचारको खण्डन गर्दै नेपालले अध्ययन संवाद र पमाणिकरण गर्न सक्ने बताएको थियो ।