काठमाडौं । राजनीतिज्ञहरु विचौलिया, दलालको भूमरीमा कसरी पर्छन् भन्ने दृष्टान्त खोज्न टाढा जानु परेन । नेपालकै पुरानो लोकतन्त्रवादी पार्टी नेपाली कांग्रेसमा केही दलाल, विचौलिया र ठेकेदारको प्रवेशले शिर्ष नेताहरु घेरिएको दाबी पार्टी भित्रैका नेताहरुको छ । यस्तो प्रवृतिबाट पार्टी भित्र प्रवेश गर्ने र ठूला नेतालाई प्रभावमा पारेर दुनो सोझ्याउने प्रवृति प्राय दलमा देखिन्छ ।
कांग्रेसभित्र सामान्य पेटी ठेक्कापट्टाबाट राजनीतिक कर्ममा छिरेका संखुवासभाली नेता दीपक खड्का अहिले शिर्ष नेताहरुको चुल्होचौकोसम्म हेर्ने हैसियतमा पुगेको देखे पछि अन्य नेता भने छक्क पर्ने गरेका छन् । आर्थिक रुपले पनि ठूलो पकड बनाईसकेका नेता खड्काले पार्टी सभापति शेर बहादुर देउवा, महामन्त्री शशांक कोइराला तथा अर्की नेतृ सुजता कोइरालाप्रभावमा पारेको दाबी काँग्रेसीजनकै छ । पार्टी स्रोतका अनुसार खड्काले यी तिन नेताको सबै खर्च व्यवस्थापन गर्छन् ।
जसले राजनीति सिकायो उसैलाई बाइपास
सुरुका दिनमा संखुवासभाकै कांग्रेस नेता गोपाल पहाडी मार्फत सुशील कोइरालासँग नजिकिएका थिए खड्का । अहिले कांग्रेसका शक्तिशाली नेताहरु ‘खेलाउने’ हैसियतमा छन् । ‘जसले कांग्रेसको राजनीतिको ‘क’ सिकायो उसैलाई अर्थात गोपाल पहाडीलाई नै बाईपास गर्दै कोइराला खानदानको भित्रिया बनेका खड्काले राजनीतिक पावर देखाएर विभिन्न ठेक्कापट्टामा प्रभाव जमाएका छन । ’ एक कांग्रेस केन्द्रीय सदस्यको भनाई छ ।
शुशिल कोइरालालाई गाडी उपहार !
०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित खड्का शेरबहादुर र शशांकलाई खुसी तुत्याउँदै शुशिल कोइरालाको नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत भएका थिए । उनले त्यत्तिबेला शुशिल कोइरालालाई गाडी समेत उपहार दिएको चर्चा थियो ।
स्काउटको सम्पत्तिमा खड्काको हालीमुहाली !
सादगी जीवन विताएका कोइराला प्रधानमन्त्री हुँदा खड्काले उनलाई प्रभावमा पारेर लैनचौरमा रहेको नेपाल स्काउटको जग्गा कौडीको भाउमा भाडामा कब्जा गरेको काण्ड अहिलेपनि कांग्रेसी वृत्तमा चर्चामा छ ।
०७४ साल कात्तिकमा यिनले नेपाल स्काउटको लैनचौरको भवन जवरजस्ती कब्जा गरेको आरोप छ । १० वर्षका लागि स्काउटको भवन लिजमा लिएर लैनचौरको मूल सडकसँग जोडिएको भवनको सटर र जमिनबाट मासिक लाखौं भाडा उठाउँथे । ०६६ सालमा नेपाल स्काउटले खड्काको खड्काल्याण्ड डेभपलमेण्ट नामक कम्पनीलाई प्रति स्वायरफिट रु ४२ का दरले करिब ७ हजार चार सय स्वायर फिट भवन लिजमा दिएको थियो । सम्झौता सकिएपछि स्काउटले नयाँ टेण्डर आब्हान गर्दा खड्काले स्काउटकै पदाधिकारीलाई धम्क्याएर आफुलाई पुरानै रेट कायम गरी सम्झौता गर्नुपर्ने अड्डी लिएको बताईएको थियो ।

स्काउटले टेण्डर प्रक्रिया अगाडी बढाउँदै गर्दा खड्का अदालत गएर अन्तरिम आदेश समेत ल्याउन भ्याएका थिए । पछि स्काउटकै पदाधिकारीसँगको मिलेमतोमा ०८५ सालसम्म लिजमा लिएका खड्काको कम्पनीले अहिले उक्त स्थानमा ठुल्ठूला संरचना बनाएर लाखौं कमाईरहेका छन् । स्काउटको जग्गामा लैनचौर बैंकेट बनाएका छन् भने माइच्वाइस रेष्टुरेण्ट एण्ड बार पनि चलाएका छन् । यसका अलावा खड्काले नेपाली कांग्रेस संखुवासभाको सम्पर्क कार्यालय त्यहिँ बनाएका छन् । खड्काले भने आफुले खड्काल्याण्ड छाडिसकेको बताउँदै आएका छन् ।
अख्तियारमै उजुरी तर, शिर्ष नेताको आर्शिवादले जोगायो ? खड्काले तीन रोपनी जग्गा स्काउटसँग लिजमा लिएपनि त्यो भन्दा बढि भोगचलन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले नापी कार्यालयको सहयोग लिएर छानविन गर्दा २ रोपनी ९ आना ३ पैसा बढि जग्गा कब्जा गरेको देखिएको थियो । स्काउटले
पटकपटक खड्कालाई हटाउने प्रयास गरेपनि उनले कांग्रेस शिर्षस्थ नेताहरुको आड पाएर स्काउटको संरचना कब्जा जमाईरहेका छन् ।

केही महिना पहिले शिक्षामन्त्री गिरीराजमणी पोखरेलले स्काउटसँगको नियम बिपरितको सम्झौता भंग गरी ती संरचना भत्काउने तयारी गरेपनि कांग्रेस सभापति र महामन्त्रीको दवावका कारण मन्त्री पोखरेल आफैं पछि हटेको स्रोतको दाबी छ ।
खड्काले शिवपुरी राष्ट्रिय निकुञ्जको जग्गा मिचेर तारे होटल पनि निर्माण गरिरहेका छन् । यसप्रति सम्बन्धित निकाय मौन बस्नुमा उनलाई शिर्ष नेताहरुकै आर्शिवाद कारण ठान्छन् काँग्रेसकै नेता कार्यकर्ता ।
अहिले पनी उनी शेरबहादुर देउवा, डा शशांक कोइराला, डा. नारायण खड्का, पुर्णबहादुर खड्का र सुजाता कोइरालाको मासिक खर्च आफूले ब्यहोरिरहेकोले आफूलाई कसैले छुन नसक्ने भन्दै हिँड्ने गरेका छन् । पार्टी स्रोतका अनुसार खड्काले नियमित रुपमा देउवा, कोइरालाद्वय र खड्काद्वयको व्यक्तिगत र पारिवारिक खर्च व्यवस्थापन गर्छन् । ‘उहाँको पार्टी सभापतिदेखि महामन्त्री र सुजता कोइरालासम्म राम्रो सम्बन्ध छ । उहाँहरुका प्रायः कार्यक्रमहरुमा उहाँले व्यवस्थापन गर्नुहुन्छ । सम्बन्ध राम्रो भयो भन्दैमा सबैथोक गर्नुहुन्छ चैं भन्न मिल्दैन ।’ सानेपा स्रोत भन्छ ।
दीपक खड्काको राजनैतिक इतिहास खासै नभएको तर, पैसा र शिर्ष नेताहरुसँगको उठबसकै भरमा कांग्रेसमा स्थान बनाएको स्वयं कांग्रेसीहरुको भनाई छ । यिनले अकुत सम्पत्ति कसरी कमाए छानविन हुन आवश्यक रहेको पार्टीभित्र चर्चा चल्ने गर्दछ ।
गएको प्रतिनिधिसभामा निर्वाचनमा बाम गठबन्धनका उम्मेद्वार राजेन्द्र गौतमसँग १ हजार २० मतले पराजित खड्काले पुनः मतगणनाका लागि सर्वोच्च समेत गुहारेका थिए ।
त्यसो त नेकाका प्रायः शिर्ष नेताहरुको खर्च व्यवस्थापन यस्तै व्यक्तिहरुबाट भइरहेको पाइन्छ । चुनाबी खर्च ब्यवस्थापन, गुट व्यवस्थापन र कार्यकर्ता संरक्षणमा लाखौं खर्च गर्नुपर्ने भएकोले प्रायः राजनीतिक दलका शिर्ष नेताहरुले ठेकेदार, सप्लायर्स र व्यापारीलाई पार्टीको सदस्यता र निर्वाचनमा टिकट समेत दिने गर्छन् । काँग्रेसको आउदो महाधिवेशनबाट बिचौलीया र दलाल प्रवृतिका व्यक्तिलाई पाखा लगाएर ईमान्दार नेताको उदय हुनु १४ औं महाधिवशेनबाट आउने नेतृत्वकालागि फलामको चिउरा चपाए सरह हुनेछ, एक नेताले बताए ।