काठमाडौँ , ३ असोज ।
असोज ३ अर्थात संविधान दिवस , देशभर विभिन्न कार्यक्रमद्वारा मनाइए । आजको दिन कयौँले खुसियाली मनाए त कयौँले दुखेसो व्यक्त गरेका छन् ।
आफ्नो दुस्ख पोख्ने क्रममा स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले संविधान दिवसकै दिन वर्तमान सरकारले संविधानको मर्म र भावनाको हत्या गरेको भन्दै सामूहिक रुपमा रोएर राजधानी लगायत देशका विभिन्न भागमा विरोध प्रदर्शन गरेको छ ।
फरक–फरक शैलीमा सिर्जनात्मक र शान्तिपूर्ण विरोध कार्यक्रम गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालको आयोजनामा राजधानीलगायत विभिन्न स्थानमा सो प्रकारको विरोध कार्यक्रम गरेको अभियानले जनाएको छ ।
राजधानीमा भएको उक्त कार्यक्रममा तिमीलाई जन्माउनेले नै मारेर छोडे नी…भन्दै डाँको छोडेर प्रदर्शनकारीहरु रोएका थिए ।
त्यसैगरी ‘यति धेरै खर्च गरेर तिमीलाई जन्माएको काम लागेन नि, गास वास कपास भन्दा भन्दै तिम्रै आशामा बस्दाबस्दै तिम्रै हत्या भयो नि, स्वतन्त्र अभियानले त पहिलेदेखि नै राइट टु रिजेक्ट र रिकल भएन भने तिम्रो मर्मको हत्या हुन्छ भनेकै थियो नि, चुनाव हारेकालाई पनि मन्त्री प्रधानमन्त्री र सांसद बनाएर तिम्रो धुकधुकीलाई ठहरै बनाए नि …’भन्दै प्रदर्शनकारीहरु रोएका थिए ।
अभियनताहरुले संविधान एक पवित्र र प्रगतिशील दस्तावेज भए पनि हजारौं मान्छेको बदिदानीबाट आएकोमा हाल संविधानको भावना विरोधी कार्यहरु फरक फरक पार्टीहरु विभिन्न समयमा सरकारमा रहँदा गरेकोले औचित्यहीन बनेको भन्दै संविधानको साङ्गे समेत गरिएको थियो ।
यस प्रकारको कार्यक्रम राजधानीको माइतीघर मण्डलामा गर्न लागिएकोमा प्रहरीले भेला जम्मा नै हुन नदिएको, त्यसपछि कोटेश्वर तीनकुनेमा तयारी भएकोमा त्यहाँ समेत अवरोध गरिएपछि प्रहरीलाई झुक्याएर आयोजकहरुले पशुपतिमा पुगेर संविधानको साङ्गे गर्दै सामूहिक रुपमा रोएर संविधानको मर्म मरेकोमा शोक प्रकट गरेका थिए ।
हाल सामूहिक रुपमा रोएको सो तस्वीर र श्रव्यदृश्यले सामाजिक सञ्जालमा निक्कै चर्चा पाइरहेको छ ।
अभियानका विभिन्न जिल्लाका समितिहरुले समेत सो कार्यक्रम गरेको जनाएको छ ।