भाद्र २२, काठमाडौँ । प्रहरीले कोरोना भाइरस संक्रमण र उपचारबारे भ्रम फैलाएको आरोपमा प्रहरीले सुवास सुब्बा लिम्बूलाई पक्राउ गरेको छ ।
विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा लिम्बुले आफूलाई आयुर्वेदिक चिकित्सक भन्दै कोरोना संक्रमणबाट मृत्यु भएकाको मिर्गौलालगायतका अंग झिकिने गरेको भनेर भ्रम फैलाएको आरोपमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिएका छन् ।
उनलाई प्रहरीले ललितपुरको ढोलाहिटीस्थित उनकै क्लिनिकबाट पक्राउ गरेको हो । लिम्बूले केही समययता विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिमाथि गम्भीर आरोप लगाउँदै आएका थिए ।
साथै आफू आयुर्वेदिक चिकित्सक भन्दै उनले केही च्यानलमा आफूले कोरोनाविरुद्धको खोप बनाएको र त्यो प्रमाणित हुन बाँकी रहेको दाबी गर्दै आएका थिए ।
विभिन्न व्यक्तिलाई ठगी गरेको भन्ने उजुरीका आधारमा सातादोबाटो प्रहरी वृत्तले समेत पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।