भदौ २१ दार्चुला । कालापानी, लिपुलेक, लिम्पियाधुरा अतिक्रमण गरेको भारतले नेपालको कडा बिरोधका बीच उक्त भूमि फिर्ता गनुको साटो सुरक्षा संरचना बढाएको छ । उसले एकातिर सुरक्षाफौजको संख्या बढाएको छ भने नेपाली आकाशमा उसका लडाकु विमान र हेलिकप्टरहरु बाक्लो मात्रामा उडिरहेको स्थानीयले बताए । साथै ठूलो संख्यामा गाडीहरु पनि नेपाली भूमि हुदैँ चीनसगँ सीमा जोडिने क्षेत्रमा गईरहेको बताईएको छ ।
लिपुलेकमा चीनसगँ समेत सीमा जोडिएको त्रिदेशीय विन्दु समेत रहेको र चीनसगँ तनाब बढीरहेकाले पनि भारतले सुरक्षा फौज बढाएको हो । नेपाली भूमिमा भारतले सन् १९६२ देखि नै क्याम्प राखेको छ ।
कहिले काँही दार्चुलाको सदरमुकाम नजिक सम्म पनि भारतीय लडाकु विमान आकाशमा देखिने गरेको स्थानीयले बताए ।
यसका बीच पनि नेपाल सरकारको तर्फबाट कुनै विरोधको सूचना भारतलाई पुगे या नपुगेको बारे कुनै जानकरी सार्वजनिक भएको छैन ।
यद्यपि, कति संख्यामा भारतीय सेनाको संख्या थपिएको छ भन्ने एकीन छैन । तर नेपाली सुरक्षा निकायले पनि केही जानकारी लिने प्रयास गरेको भने बुझिएको छ ।
नेपाली सीमा सम्म एसएबीले पनि ब्यापक गस्ती गरीरहेको छ । नेपालले पनि भारतले अतिक्रमण गरेको भूमि फिर्ताको माग गर्दै नक्सा बनाउनुका साथै सीमा क्षेत्रमा शसस्त्र प्रहरीको बोर्डर आउटपोष्ट राखेर निगरानी गरीरहेको छ ।
नेपाली भूमि फिर्ताका लागि वार्ताको पटक पटक प्रयास चलिरहे पनि सफल हुन सकेको छैन ।