झापा भदौ २० । झापाको शिवसतासी धाम स्थित सडक किनारको एकान्त स्थानमा एक युवाको घाँटी काटेर मारेको अभियोगमा प्रहरीले मनकुमार लिम्बुलाई पक्राउ गरेको छ ।
शिवसतासी नगरपालिका ११ बस्ने २९ वर्षे गोमन सिंह मगरलाई सोही नगरपालिका ८ बस्ने ३२ बर्षे मनकुमार लिम्बुले घाँटी काटेर मारेको प्रहरीले जनाएको छ ।
भदौ १६ गते साँझ साथीलाई भेट्न जान्छु भनेर हिँडेका गोमन मगर घर नफर्किए पछि खोजी शुरु भएको थियो ।
त्यसरी खोजी गर्दा १७ गते बिहान १० बजे तिर घाँटी काटिएको अवस्थामा गोमनको शब फेला पर्यो । त्यस पछि प्रहरीले अनुसन्धान गर्दै जाँदा लिम्मुसम्म प्रहरी पुगेर हिजो नियन्त्रणमा लिएको थियो ।
प्रहरीलाई मनकुमारले दिएको बयान अनुसार उनले साथी रहेका गोमनलाई साँझ साढे ६ बजे भेट्न बोलाएका थिए । त्यस पछि गोमन पनि साथीलाई भेट्न जान्छु भन्दै प्रदेश ०१–०१०१२–प ५२२५ नम्बरको मोटरसाईकलमा गए ।
त्यस पछि गफ गरे पछि लिम्बुले सतासी मन्दिरसम्म गएर हावा खाएर फ्रेस हौँऔ भन्दै आफू गोमनले चलाएको मोटरसाईकलको पछाडी बसे । उनले मोटरसाईकल अलि बिस्तारो चलाउन लगाए । अनि बिस्तारै मोटरसाईकल चल्न थाले पछि लिम्बुले बोकेको कर्द निकालेर गोमनको घाँटी रेट्न थाले । त्यस पछि गोमन ढले, मोटरसाईकल पनि लड्यो ।
कसैले थाहा नपाओस् भनेर मनकुमारले त्यो मोटरसाईकल पर जंगलमा लगेर लडाईदिए । त्यस पछि गोमन मगरको घाँटीमा पटक पटक प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । गोमनलाई मारिसके पछि मनकुमारले सडकको नालीमा फाली दिएका थिए ।
अनि गोमनको आईफोन, साथीको घाँटी रेट्न प्रयोग भएको कर्द, आफ्नो मोबाईल सबै मनकुमारले खोलामा फ्याकेका थिए । उनकै बयानका आधारमा प्रहरीले खोलाको पानी फर्काएर खोजी गर्दा ती सामाग्रीहरु हिजो दिँउसो फेला पारेको थियो ।
प्रहरीले मनकुमार र गोमनबीच आर्थिक लेनदेनमा असमझदारी हुँदा हत्या भएको आशंका गरेको छ । मनकुमार लाई कर्तव्य ज्यान मुद्धामा भोली जिल्ला अदालत झापाबाट म्याद थप गरेर मुद्धा चलाउने प्रदेश एक प्रहरी कार्यलयका सूचना समन्वय अधिकृत डिएसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए ।
